१३ बैशाख २०८१, बिहीबार

भारतले निर्यात रोकेको भोलिपल्ट नेपालमा ह्वात्तै बढ्यो प्याजको मूल्य, प्याजको अभाव हुने

onion

भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमासमेत प्याज पाइनै छाडेको छ । आक्कल झुक्कल कुनै पसलमा पाइने प्याज पनि अचाक्ली महँगो छ ।

भारतले प्याज निर्यातमा रोक लगएको भोलिपल्ट नै प्याजको मूल्य किलोमा १५ रुपैयाँ बढेको छ। कालिमाटी तरकारी तथा फलफूल बजारको थोक मूल्यसूचीअनुसार भारतीय सुकेको प्याजको मूल्य किलोमै २५ प्रतिशत मूल्यबृद्धि भएको हो।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले भारतले प्याज निर्यात रोकेको जानकारी दिए ।

भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरु बताउँछन् । काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा आलु-प्याजको होलसेल व्यापार गर्दै आएका दधिराम उप्रेतीले भने, ‘भारतबाट प्याज आउन छोडेपछि नेपालमा पनि पाउनै छोड्यो ।’

भदौ २९ गते किलोको औषत मूल्य ६० रुपैयाँ रहेको देशकै ठूलो तरकारी बजारमा आज बढेर ७५ रुपैयाँ पुगेको बजारले जानकारी दिएको छ।

उपभोक्ता मूल्यो यो भन्दा धेरै बढेको छ। उपभोक्ता मूल्य काठमाडौंका विभिन्न ठाउँमा फरकफरक मूल्य हुने गरेको छ।

कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ । व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ताहरु बताउँछन् । जबकी अघिल्लो दिनसम्म प्याज ६६ रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो ।

भारतको केन्द्रीय सरकारले सोमबारमात्र प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो। अस्वाभाविक मूल्य वृद्धि भएपछि प्याज निर्यातमा भारतीय सरकारले रोक लगाएको बताइएको थियो।

भारतले निर्यात रोकेको बहानामा व्यापारीहरुले स्टकमा रहेको प्याजको कृत्रिम अभाव सिर्जना गर्दै महँगोमा बेचिरहेको आशंका उपभोक्ताहरुको छ ।

भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको हो । निर्यात बन्द गरेपछि बजारमा प्याज प्रशस्त पाइने र मूल्य पनि कम हुने भारत सरकारको विश्लेषण छ ।

यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो ।

भारी वर्षात् तथा बाढीका कारण घरेलु बजारमा प्याजको आपूर्ति पर्याप्त हुन नपाएपछि पाउडर बनाइएको तथा काटिएका केही आइटम बाहेकको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

यसअघि गएको वर्ष पनि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो। गएको मार्चमा खोलिएको थियो। भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली बजारमा मूल्य बृद्धि भएको थियो।

अघिल्लो वर्ष भारतले प्याज निर्यातमा रोक लगाउँदा नेपाली बजारमा किलोको २३० रुपैयाँसम्म पुगेको थियो।

प्याजको अभाव हुने

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको अभाव हुने भएको छ। नेपाल राष्ट्रिय तरकारी तथा फलफूल व्यवसायी महासंघका प्रमुख खोमप्रसाद घिमिरेले नेपालमा ठूलो मात्रामा भारतबाट प्याज आउने भएकाले भारतले नै प्रतिबन्ध लगाएमा नेपालमा स्वतः रुपमा प्याजको अभाव हुने बताए।

नेपालमा भारत तथा चीनबाट प्याज आयात गरिन्छ। भारतले प्रतिबन्ध लगाएपछि चीनबाट आयात गर्नुपर्ने अवस्था सिर्जना भएको छ। तर कोरोना भाइरसका कारणले चीनबाट प्याज आयात गर्न सहज नभएको उनले बताए।

उनले भने, ‘नेपालमा ठूलो परिणाममा भारतबाट प्याज आउँछ। भारतले कहिलेसम्म प्रतिबन्ध लगाएको थाहा छैन। अर्को हाम्रो आयात गर्ने मुलुक चीन हो। तर कोरोना महामारीका कारणले त्यति सहज छैन।’

उनका अनुसार प्याजको अभाव मात्र नहुने भएर यसको मूल्य पनि बढ्छ। कठमाडौँ उपत्यकामा मात्र दैनिक करिब ५० टन प्याज खपत हुने उनले जानकारी दिए।