१३ बैशाख २०८१, बिहीबार

रौतामाईका दर्जनौँ घरपरिवार उच्च जोखिममा

salyan
फाइल फोटो

उदयपुरको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिका–७ पुवारेस्थित डहर खड्काबारी क्षेत्रको माथिल्लो खण्डबाट निरन्तर वर्षाका कारण पहिरो झर्न थालेपछि सो गाउँका दर्जनौं घरपरिवार उच्च जोखिममा परेका छन् ।

निरन्तर वर्षाका कारण पुवारे खोलाबाट बाढी प्रवेश गर्न थालेपछि खेतबारी पुरिन थालेको र अहिले गाउँका एक दर्जन घर उच्च जोखिममा परेको स्थानीयवासी दुर्गा रोकाले बताउनुभयो । उहाँका अनुसार केही दिन यतादेखि निरन्तर वर्षासँगै गाउँको माथिल्लो सडकका पाखा भत्किएर पहिरो झर्न थालेपछि एक दर्जन घर उच्च जोखिममा परेकाले सो क्षेत्रका बासिन्दा रातमा घर बस्न छाडेर अन्यत्र जान थालेका छन् ।

स्थानीयवासी खेमबहादुर मगरका अनुसार पुवारे रौता जोड्ने कच्ची सडक खण्डको माथिल्लो भागबाट पहिरो खस्न थालेका कारण गाउँका एक दर्जन घर पहिराको घेरामा परेकाले जुनसुकै समयमा पनि घर पहिराले लान सक्ने अवस्था आएको छ ।

गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले भन्नुभयो, “पहिला पनि पुवारे खोला फुटेर खड्काबारी गाउँमा प्रवेश गरेको कारण गाउँपालिकाबाट सामान्य तारजाली लगाएर बाढी पहिराको रोकथाम गरेका हौं, अहिले फेरि निरन्तर वर्षाका कारण माथिल्लो खण्डबाट पहिरो खस्न थालेको आफूले सुन्नमा आएकाले तत्काल अन्यत्र सार्न पहल भइरहेको छ ।”