१५ चैत्र २०८०, बिहीबार

रामजानकी मठको जग्गा भूमाफियाको कब्जामा

bhumi mafiya

रौतहटको फतुवा विजयपुर नगरपालिका– ६ पेटभरवास्थित रामजानकी मठको करोडौँ मूल्यको जग्गा भूमाफियाको कब्जामा परेको छ ।

तत्कालीन भूमिसुधार कार्यालय रौतहटका प्रमुख रामकृष्ण उप्रेती र गाविस सचिव सत्यलाल साह कानुको मिलोमतोमा किर्ते मोही बनेर भूमाफिया नागेन्द्र यादवले करोडौँको जग्गा कब्जा गरेको स्थानीयवासीको आरोप छ । यादवले करोडौँ मूल्य पर्ने उक्त जग्गा आफ्ना दुई जना साहु सञ्जयप्रसाद साह र जयमङ्गल साहको नाउँमा पारित गरेर रकम लिएर धरौटी राखेका छन् । कर्मचारी मिलाएर मोहीहकबापत मठको उक्त जग्गा नागेन्द्र यादवले आफ्नो नाउँमा नामसारी गराइ एक बिगाहा १३ कट्ठा २०७५ असार २५ गते माधवनारायण नगरपालिका– ६ का गोपालसाह तेलीका छोरा सञ्जयप्रसाद साहको नाउँमा पारित गरेको कार्यपालिका सदस्य लक्ष्मण साहले जानकारी दिनुभयो ।

साविक फतुवा विजयपुर गाविस वडा ६ पेटभरवा गाउँका बुसाइ राय यादवको छोरा मंगर राय यादवले आफ्नो पुस्तैनी सम्पत्ति आठ बिगाहा १० कट्ठा जग्गा गाउँमै रहेको रामजानकी मठको नाउँमा २०२१ साल माघ २६ गते रजिस्टेसन पारित गरी साधुु बनेका थिए । जग्गादाता यादवको मृत्युपश्चात् गाउँकै एक जना बहादुर राय यादवले २०६७ सालमा मोहीहकका लागि भूमिसुधार कार्यालय गौरमा मुद्दा लडेका थिए तर मंगर राय यादवले रामजानकी मठलाई दिएको जग्गामध्ये तीन बिगाहा १५ कठा जग्गामा मोहीहक नलाग्ने फैसला गरेको थियो ।

माधोपुर नगरपालिका– ६ का बुसाइ राय यादवको छोरा नागेन्द्र यादवले साविक फतुवा विजयपुर गाविस सचिव सत्यलाल साह कानु र तत्कालीन भूमिसुधार कार्यालय गौरका प्रमुख रामकृष्ण उप्रेतीलाई मिलाएर रामजानकी मठको नक्कली मोहीधनी बनेर मोहीहकका लागि भूमिसुधारमा मुद्दा गरेका थिए । प्रमुख उप्रेतीको फैसलाअनुसार २०७१ असोज ३१ गते मठको साविक फतुवा विजयपुर ३ कि नं १५५ को १७ कट्ठा, वडा ३ ख कि नं १५९को ९ कट्ठा, वडा ३ ख किता नं १७१ को एक बिगाहा दुई कट्ठा, वडा ४ किता नं १३७ को नौ कट्ठा गरी कूल तीन बिगाहा १५ कट्ठा जग्गामा नागेन्द्र यादव मोहीधनी बनेका थिए ।

मोहीहक लिएको चार वर्षपछि २०७५ भदौ २२ गते नयाँ कित्ताका रुपमा फतुवा विजयपुर गाविस ४ किता नं ६४१ को चार कट्ठा १० धुर, किता नं ३८१ को ८ कट्ठा १० धुर, किता नं.३८३ को एक बिगाहा गरी कूल एक बिगाहा १३ कट्ठा जग्गा नागेन्द्र यादवले हाल माधवनारायण नगरपालिका– ६ का गोपाल साहको छोरा सञ्जयप्रसाद साहको नाउँमा धरौटीबापत पारित गरेको कार्यपालिका सदस्य लक्ष्मण साह बताउँछन् ।

त्यसैगरी रामजानकी मठको नक्कली मोहीधनी बनेर नागेन्द्र यादवले लिएको एक बिगाहा १७ कट्ठा १० धुर जग्गामध्ये बाँकी जग्गा चार कट्ठा १० धुर, गरुडा नगरपालिका– १ जयनगरका जिमदार महतोको छोरा जयमङ्गल महतोको नाउँमा नागेन्द्र यादवले सोही दिन धरौटीस्वरुप नै पारित गरेका थिए । साहुको ब्याजबाट बच्न नक्कली मोहीधनी बनेका नागेन्द्र यादव फेरि एकपटक रामजानकी मठको सोही जग्गा बिक्री गर्न चलखेल शुरु गरेका छन् । सञ्चारकर्मीको अनुरोधमा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले तत्काल उक्त जग्गा रोका राख्न मालपोत कार्यालयमा निर्देशन दिइसकेको बताउनुभयो ।

विचौलियाले भूमाफियाको समाचार नलेख्न र सिडियोसँग फुकुवा गराउनमा सहयोग गर्न केही सञ्चारकर्मीलाई आर्थिक प्रलोभन समेत दिएको बताइएको छ । वडा ६ का अध्यक्ष हिरालाल यादवले रामजानकी मठको जग्गा बिक्री गराउन कुनैपनि हालतमा सिफारिस नगर्ने प्रतिबद्धता जनाएका छन् । फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपालप्रसाद यादवले रामजानकी मठको किर्ते गराएर बेच्न लागेको जग्गाबारे खासै चासो नलिएको स्थानीयवासीको गुनासो छ ।

कार्यपालिका सदस्य लक्षमण साह प्रमुख केही राजनीतिक दलका कार्यकर्ता र गाउँले कुनैपनि बहानामा मठको जग्गा कुनै व्यक्तिलाई भोग गर्न बिक्री गर्न नदिने अडानमा रहेका छन् ।