१६ चैत्र २०८०, शुक्रबार

बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिनुहुँदैन: प्रधानमन्त्री ओली

2020 05 25 image 96
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले शिक्षामा प्रविधिको प्रयोग गरी बालबालिकालाई पढाइप्रतिको रुचि बढाउनुपर्नेमा जोड दिनुभयो ।

बालबालिकाको रुचि, क्षमता र छनोटका विषयमा अभिभावकले ध्यान दिनुपर्ने बताउँदै उहाँले बालबालिकालाई कुनै पनि किसिमको विभेदको शिकार बनाउन नहुनेमा जोड दिनुभयो । बालबालिकाको शारीरिक र मानसिक विकासका लागि स्वच्छ हावा, आहार र त्रासरहित वातावरणको सुनिश्चित गरिनुपर्ने उहाँको भनाइ थियो । कुनै पनि देश देशबीच वा समुदाय समुदायबीचको विवादका कारण बालबालिकाको शान्तिसँग बस्न पाउने अधिकार खल्बलिन नहुने उहाँले औँल्याउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि बालबालिकाकाले शारीरिक र मानसिक रुपमा आनन्दले जीवन बिताउन, अनुशासन र नियम सिक्न तथा सामूहिक भावना विकास गर्न पाउनुपर्छ ।”

सो अवसरमा बालबालिकामन्त्री पार्वत गुरुङले जोखिममा परेका बालबालिकाको अभिभावकका रुपमा राज्य रहेको बताउँदै प्रधानमन्त्रीको मार्गनिर्देशनानुसार तिनीहरुसँग सम्बन्धित कार्ययोजना बनाइने जानकारी दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले पन्ध्रौँ योजनामा बालबालिकाका समग्र विषय समेटिएको जिकिर गर्नुभयो भने आयोगका सहसचिव किरण रुपाखेतीले बालबालिकालाई सम्मानजनक रुपमा हेरिनुपर्ने बताउनुभयो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले बालविवाहमुक्त प्रदेश घोषणा गर्न तयारी गरिरहेको जानकारी दिनुभयो । गण्डकी प्रदेशका सामाजिकमन्त्री नरदेवी पुनले प्रदेश सरकारले बालमैत्री प्रदेश र बालमैत्री पालिका बनाउन लागिपरेको बताउनुभयो ।

नेपाल प्रहरी, बालबालिका निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक दुर्गा सिंहले पहिले हिंसापीडित बालबालिकालाई जिल्लास्थित महिला तथा बालबालिका कार्यालयसँग समन्वय गरिए पनि अहिले स्थानीय तहसँगको समन्वय अप्ठेरो भएको बताउनुभयो । राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले पछिल्लो दिनमा भएका प्राकृतिक विपद्का समयमा बालबालिकाको उद्धार र संरक्षणमा स्थानीय तहले समन्वय गरिरहेको बताउनुभयो ।

केन्द्रीय बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले संस्थामा कतिपय बाबुआमा भएका बालबालिकासमेत रहेकाले सच्याउनुपर्नेमा जोड दिनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले कोभिड–१९ लाई शिक्षण सिकाइ र विद्यार्थी मूल्याङ्कन परिवर्तन गर्ने अवसरका रुपमा लिन सकिने बताउनुभयो । नेपाल नगरपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष अशोक ब्याञ्जुले बाटो, विद्युत्लगायत भौतिक पूर्वाधार मात्रै भन्दा बालबालिकाको समग्र विकासमा सबै सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समितिका अध्यक्ष सीता सुन्दासले स्थानीय तहले भौतिक संरचना बालमैत्री बनाइरहेको बताउनुभयो ।