१६ चैत्र २०८०, शुक्रबार

चितवन मेडिकल कलेजमा कोरोना सङ्क्रमित वृद्धाको निधन

death

चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।

हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । दुई वृद्धाको घरमै मृत्यु भएको थियो । चितवनका १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक÷एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

मलमा कालोबजारी गर्नेलाई जरिवाना

जिल्ला प्रशासन कार्यालय चितवनले मलमा कालोबजारी गरेको भन्दै चार जनालाई जरिवाना गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक, बिक्री उपसमितिका संयोजक र दुई सदस्यलाई प्रशासनले मलमा कालोबजारी गरेको भन्दै जनही रु १० हजार जरिवाना गरेको हो ।

मल कालोबजारी गरेको अभियोगमा प्रशासनले सहकारीका व्यवस्थापक विनोद अधिकारी, बिक्री उपसमितिका संयोजक रामकृष्ण तिम्सिना तथा सदस्यहरु निर्मल घिमिरे र मायानाथ अर्याललाई पक्राउ गरेको थियो ।

सहकारीले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ विपरीत कसुर गरेको ठहर गर्दै उनीहरुलाई जरीवाना र बिक्रीका लागि राखिएको मल जफत गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिनुभयो । सहकारीमा खोलिएको अवस्थामा रहेको एक हजार ५० किलोग्राम र नखोलिएको ३० बोरा युरिया मल जफत गर्ने निर्णय गरेकोसमेत सिम्खडाले बताउनुभयो ।