१५ चैत्र २०८०, बिहीबार

भूजिखोलामा आएको बाढीले बाढीग्रस्त क्षेत्रमा खानेपानीको समस्या

water tap

बाढीले खानेपानी योजनाको मुहानसँगै पानी वितरण गरिने मुख्य ट्यांकी बगाउँदा बागलुङको ढोरपाटन नगरपालिकासहित आधादर्जन बस्तीमा खानेपानीको समस्या भएको छ ।

ढोरपाटनको भूजिखोलामा आएको बाढीले सो क्षेत्रमा पानी वितरण गर्ने पाइप लाइन, मुहान र ट्यांकी क्षतिग्रस्त बनाएपछि खानेपानीको समस्या भएको हो । यही भदौ १७ गते राति आएको बाढीले सो क्षेत्रका आधा दर्जनभन्दा बढी गाउँका ८० घर बगाएको छ भने ७० घरमा क्षति पुगेको छ । बाढीमा हालसम्म २१ जनाको मृत्यु भइसकेको छ भने १७ जना अझै वेपत्ता छन् ।

ढोरपाटन नगरपालिका–९ स्थित सुर्तिवाङमा पहाड फुटेर खसेको पहिरोले भूजिखोला थुनेर बाढी ल्याएको थियो । बाढीले ढोरपाटन नगरपालिका–९ का बस्ती बगाएपछि आफन्तकोमा आश्रय लिएका बाढीपीडितले खानेपानी नपाएको गुनासो गरेका छन् । बाढीले क्षति पु¥याएको ढोरपाटन नगरपालिका–९ का द्वार, फल्लेघर, सुप्राङ, घट्टेपानी, दुनेपधेरा, भुसुन्दे, सुकुरुदुङ र लाकुरीबोट गाउँमा खानेपानीको समस्या भएको स्थानीयवासी सम्मरबहादुर बिकले बताउनुभयो । “सडक, सञ्चार, खानेपानी नहुँदा सर्वसाधारण समस्यामा छन्”, उहाँले भन्नुभयो, “घरखेत त बाढीपहिरोले लग्यो, गाउँ छाडेर आफन्तको शरणमा छौं, पानीसमेत खान पाइएको छैन ।” शुद्ध पानी पिउन नपाउँदा झाडापखलाले विस्थापितलाई सताउन सक्ने चिन्ता थपेको उहाँको भनाइ छ ।

बाढीपहिरोले पानीको मुहान बगाएकाले खानेपानीको समस्या भएको लाकुरीबोटका भीम बहादुर बिकले बताउनुभयो । “बाढीले विभिन्न ठाउँका खानेपानी मुहान, वितरण लाइनका पाइप र ट्यांकीसमेत बगाउँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “घरैको धारमा आउनेपानी बाढीका कारण बन्द भएकाले २० मिनेट हिडेर कुँवाको पानी लिन जानुपर्ने बाध्यता छ ।”

तत्कालै खानेपानीको व्यवस्थापन गर्न समस्या भएको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष हरीबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार बाढीले २० किलोमिटर क्षेत्रमा क्षति पु¥याएका कारण तथ्याङक सङ्कलनमा केही समस्या भएको छ । राहत र उद्धारमै खटनुपरेका कारण खानेपानीतर्फ ध्यान पु¥याउन समस्या भएको हो । “बस्ती नै बगाएको छ, खानेपानी, विद्युत् तथा सञ्चार बिच्छेद भएका छन्” उहाँले भन्नुभयो, “खानेपानीको पुरानो अवस्था कस्तो थियो भन्ने नै छैन, तत्कालै राहत र उद्धारमा लागेका कारण खानेपानीको व्यवस्थापन हुन सकेको छैन ।”

अझै वर्खाको समय भएकाले बाढीग्रस्त क्षेत्रभन्दा केहीमाथी मूलभएपनि हिउँदमा खानेपानीको चरम समस्या हुने अनुमान गरिएको छ । बाढीले बस्तुभाउ समेत बगाउँदा दुर्घन्दको जोखिम समेत उतिकै रहेको छ । शुद्धपानीको अभावमा खोल्साको पानी पिउँदा झाडापखला तथा अन्य रोगको समेत जोखिम सम्भावना रहेको स्थानीयवासी बताउँछन् ।

तत्काल किटाणु मार्ने औषधि हालेर खानेपानीमा प्रयोग गर्नका लागि गण्डकी प्रदेश सरकारले सम्बन्धित सबैमा आग्रह गरेको छ । यसका लागि प्रदेश सरकारले आवश्यक औषधिसमेत बाढीपीडितलाई वितरण गर्न थालेको बताइएको छ ।