७ बैशाख २०८१, शुक्रबार

पहिराको जोखिममा नाग्मबजार

kalikot nagma bazar

कालिकोटको तिलागुफा नगरपालिका–१ स्थित नाग्मबजार पहिरोको उच्च जोखिममा छ । वर्षेनी नाग्मबजारका आधा दर्जन घरका भित्ता भत्किन्छन् । यो वर्ष मानवीय क्षति हुने गरी पहिरो गएकाले नगरवासी त्रसि बनेको स्थानीयवासी मदन उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नाग्मबजार पहिरोबाट सुरक्षित छैन । जुनसुकै बेला बजारमा पहिरो पस्ने खतरा छ ।” स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारले बजार जोगाउनमा ध्यान दिनुपर्ने स्थानीयवासी उपाध्यायले बताउनुभयो ।

तीला नदीले बजारको तल्लो भाग वर्षेनी कटान गरीरहेको छ । उहाँका स्थानीयवासीका अनुसार फोहिरो र नदीको कटान नियन्त्रणमा कसैको ध्यान गएको छैन । बजारका स्थानीयवासी मानबहादुर बुढाका अनुसार पहिराले घर भत्काउने र मानिसले बनाउने क्रम निरन्तर जारी छ ।

बजारमा रहेका १२० घरका स्थानीय त्रासित रहेको बुढाले बताउनुभयो । स्थानीय सरकारले भवन आचारसंहिताअनुसार घर बनाउन आग्रह गरे पनि यहाँका स्थानीयवासीले सो आचारसंहिता पालना गरेका छैनन् ।

तिलागुफा नगरपालिकाका मेयर रत्नबहादुर शाहीले भन्नुभयो, “पहिरोमा परी मृत्यु भएका परिवारको व्यवस्थापन र बजार व्यवस्थापन नगरपालिकाको पहिलो प्राथामिकता हो ।” यही भदौ १३ गते सो बजारमा पहिरो जाँदा दश जानकोे मृत्यु भएको थियो ।