१२ बैशाख २०८१, बुधबार

जहाज खरिद प्रक्रिया अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

yogesh
फाइल फोटो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिनुभएको छ ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग आज मन्त्रालयमा भएको संयुक्त बैठकमा मन्त्री भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकलाई सेवा उपलब्ध गराउन जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो । पर्यटनमन्त्री भट्टराईले आन्तरिकतर्फ दुई टुईनटर जहाज भएको र त्यसले माग धान्न नसक्नुका साथै दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएकाले तत्काल खरिद योजना अघि बढाउन निगम व्यवस्थापनलाई आग्रह गर्नुभयो । उहाँले निगमलाई पब्लिक मोडलमा लैजान कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, कर्मचारी सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिनु भएको छ ।

मन्त्री भट्टराईले नेपाल एयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका जग्गा व्यावसायिक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत आग्रह गर्नुभयो । खर्चकटौती तथा मितब्ययीता अपनाउन, विदेशमा रहेका कर्मचारी कटौती गर्न, बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत आग्रह गर्नुभयो ।