८ बैशाख २०८१, शनिबार

बेपत्ता खोज्दै कालीगण्डकीको बाँधसम्म

kaligandaki dam

बाढीपहिरोले बगाएर कालीगण्डकीसम्म पु¥याएको हुनसक्ने आशङ्कामा बागलुङको ढोरपाटन नगरपालिका–९ मा भदौ १७ गतेदेखि बेपत्ता भएकाको खोजी कालीगण्डकी जलविद्युत् आयोजनाको स्याङ्जाको मिर्मिस्थित ड्यामसम्म प्रहरीले खोजी थालेको छ ।

बाढीपहिरो गएको छ दिन बिते पनि बेपत्ता भएका सबैजना भेटिएका छैनन् । खोजीकार्य जारी छ । प्रहरी, सशस्त्र र सेनाले व्यापक खोजी गरिरहे पनि अहिलेसम्म भेट्न नसकिएको हो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वको टोलीले गुल्मीको रिडी र स्याङ्जाको मिर्मिस्थित कालीगण्डकीको ड्यामसम्म बेपत्ताको खोजीमा निस्केका छन् । शव भेटिन्छ की भनेर खोजीमा हिँड्दा केही पत्ता लगाउन नसकिएको उहाँले बताउनुभयो । दिनभर खोजी उद्धार गर्दा मरेको भैँसी मात्र भेटिएको समेत उहाँले बताउनुभयो । ठूलो पहिरो, खोलामा धेरै ढुङ्गागिट्टीको थुप्रो र बगेको पानी बडिगाड हुँदै कालीगण्डकीमा पुग्ने भएकाले खोजी उद्धार कठिनाइ भएको हो ।

वर्षात्मा नदीको बहाव पनि ठूलो छ । बगेर कालीगण्डकीको ड्याममा पुगेको अवस्थामा मात्रै सफाइको क्रममा शव भेटिन सक्छ । बिचबिचमा अड्केको अवस्था भएमा खोजी भए पनि भेट्टाउन कठिन हुने भण्डारी बताउनुहुन्छ । खोजी गरिएको खण्ड झण्डै १०० किमीभन्दा लामो स्थान पर्छ । सानो जनशक्तिले धेरै स्थानमा खोजी गर्न कठिन छ । पानीको बहाव कम भएपछि भने बगरमा भेटिन सक्ने उहाँले बताउनुभयो । पुरिएर शव गल्ने अवस्था भयो भने पत्ता लाग्न पनि कठिन हुने खोजी टोलीको भनाइ छ ।

घटनास्थलमै पनि ठूला ढुङ्गा भएकाले खोजी उत्तिकै समस्या छ । ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीका अनुसार यहाँका ८० घर पूर्णरुपमा बगाएको छ । एकाउन्न घरमा आंशिक क्षति भएको छ । पहिरोमा परेर १७ जनाको मृत्यु भएको हो भने २१ बेपत्ता छन् । ती घरमा बाँचेका झण्डै ३५० विस्थापितमा परेका छन् । विस्थापित गाउँमा रित्तिएका घर, आफन्त र छिमेकीको आश्रयमा बसेका छन् । केहीले बारीमा पाल टाँगेर बस्न बाध्य छन् ।