४ बैशाख २०८१, मंगलवार

बाढीले जलविद्युत् आयोजनाको विद्युत्गृहसहित बगायो दुई जनालाई

flood river

सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको छ । गए राति आएको बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको हो ।

स्थानीय नागदेवा खोला लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा कार्यरत राजु र उनका साथी विष्णुराजलाई राति करीब १ बजे अचानक खोलामा आएको बाढीले बगाएको सिरिजंघा गाउँपालिकाका अध्यक्ष टीका गुरुङले जानकारी दिनुभयो । राजु आयोजनाको विद्युत्गृहका कर्मचारी हुन् भने विष्णुराज उनका साथी हुन् । स्थानीयवासीका अनुसार राजुले विष्णुलाई साथीका रुपमा विद्युत्गृहमा लगेका थिए । उनीहरु दुवैको शव विद्युत्गृहमुनि बगरमा भेटिएको छ ।

बाढीले विद्युत्गृह बगाएको बिहान मात्रै थाहा भएको थियो । नजीकैक पेदाङका बासिन्दाले बाढीले विद्युत्गृह नै नरहेको देखेपछि घटनाबारे जानकारी भएको थियो । अध्यक्ष गुरुङका अनुसार इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली र स्थानीयवासीको सहायतामा शव निकालिएको र परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भएको छ । अहिले विद्युत आपूर्तिसमेत बन्द भएको छ भने क्षतिको विवरण समेत आउन बाँकी छ ।

    सम्बन्धित समाचार...