१३ बैशाख २०८१, बिहीबार

ढोरपाटनमा खोलाको बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्क बिहिन

sindhupalchowk flood
सांकेतिक तस्विर

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ ।

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क बिहिन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

“रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन”, भण्डारीले फोन मार्फत भन्नुभयो, “अहिले उद्दारको काम भइरहेकोछ, बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान छ ।” बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । उहाँले राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको जानकारी दिनुभयो ।

घटनाको विषयमा बुझ्न प्रमुख जिल्ला अधिकारीको टोली ढोरपाटन जान लागेको छ ।