१३ बैशाख २०८१, बिहीबार

कुल सङ्क्रमितमध्ये ४१ प्रतिशत एउटै अस्पतालमा

Coronavirus 1

जिल्लाको कूल कोरोना सङ्क्रमितमध्ये ४१ प्रतिशत बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित स्पाइनल इन्जुरी अस्पतालमा मात्रै छन् । उक्त अस्पतालमा पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाएको छ ।

शनिबार मात्रै थप ३६ मा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म उक्त अस्पातालमा जिल्लाको कूल सङ्क्रमितमध्ये ४० दशमलव ३१ अर्थात् १०४ सङ्क्रमित भएका छन् । तीमध्ये ७२ अस्पतालमा उपचाररत बिरामी र बिरामी कुरुवा सङ्क्रमित छन् । यसबाहेक अस्पतालका २७ कर्मचारी, ११ प्रशिक्षक र अस्पतालको क्यान्टिनमा कार्यरत चार सङ्क्रमित भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्ट काभ्रेपलाञ्चोकले जनाएको छ ।

पोष्टका अनुसार सङ्क्रमितमध्ये ९६ सोही अस्पतालमै, छ होम आइसोलेसनमा रहेको, एक बनेपास्थित शिर मेमोरियल अस्पताल र बाँकी एकको नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ । अस्पतालको सम्पर्कमा रहेका १२ स्थानीयवासीमा समेत सङ्क्रमण देखिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले बताउनुभयो । “उक्त अस्पतालमा केही दिनदेखि अप्रत्याशितरूपमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ, अस्पतालका अन्य र सङ्क्रमित स्थानीयको सम्पर्कमा रहेकामा थप कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षणको दायरा बढाइरहेका छौँ”, उहाँले भन्नुभयो ।

झाका अनुसार यसअघि धुलिखेल अस्पतालमा मात्रै कोरोना भाइरस परीक्षण गर्दै आइएकामा हालै मात्र सदरमुकाम धुलिखेलमा प्रादेशिक प्रयोगशाला स्थापना भएपछि सङ्क्रमण परीक्षणको दायरा बढाउन निकै सहज भएको छ । उक्त अस्पतालका एक कर्मचारीमा यही भदौ १२ गते पहिलोपटक कारोना सङ्क्रमण देखिएको थियो । त्यसलगत्तै भदौ ३ गते एक स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएपछि उक्त अस्पतालमा पछिल्ला केही दिनमा उच्च सङ्ख्यामा सङ्क्रमण फैलिएको तथ्याङ्कले देखाएको छ । यसमध्ये पनि भदौ १० र १२ गते सङ्क्रमण सङ्ख्या बढी देखिन्छ ।

उक्त अस्पतालमा सङ्क्रमण नियन्त्रणका लागि शनिबारदेखि स्वास्थ्यकर्मीको एक टोली परिचालन गरिएको छ । स्वास्थ्य प्रमुख झाले उक्त अस्पताल र स्थानीय समुदायमा सङ्क्रमण नियन्त्रणका लागि सहयोगको अपिल गर्नुभएको छ । अस्पताल प्रशासनले सावधानी अपनाउँदा अपनाउँदै सङ्क्रमणदर बढेकामा चिन्ता व्यक्त गर्दैै स्वास्थ्य–सुरक्षा मापदण्डानुसार सङ्क्रमण नियन्त्रणमा गम्भीरतापूर्वक लागेको जनाएको छ ।

धुलिखेल अस्पतालमा पनि ३१ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । योसँगै जिल्लाका ५२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको पोष्टले जनाएको छ । पोष्टका अनुसार २२ सुरक्षाकर्मी पनि सङ्क्रमित छन् । जिल्लामा काभ्रेपलाञ्चोकमा हालसम्म २५८ लाई कोरोना सङ्क्रमण भएको छ । यसमध्ये एक पुरुष र एक महिलाको मृत्यु भइसकेको छ भने ९३ उपचारपछि घर फर्किएको र १६३ अस्पताललगायत विभिन्न स्थानको आइसोलेसनमा उपचाररत रहेको पोष्टले जनाएको छ ।