१२ बैशाख २०८१, बुधबार

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा

Narayangadh Mugling Pahiro
फाइल फोटो

सुख्खा पहिराले आज बिहान १० बजदेखि अवरुद्ध भएको तनहुँको आँबुखैरेनी–मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरा नजिक खसेको पहिरो हटाइ सवा एक घण्टापछि पृथ्वी राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा आएको हो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले ठूला ढुङ्गा हटाउन बाँकी रहेकाले दुईतर्फी नै सडक खुलाउन केही समय लाग्ने जानकारी दिनुभयो । “सानासाना ढुङ्गा हटाएर सवा एक घण्टामा बाटो एकतर्फी भइसकेको छ, ठूला ढुङ्गा हटाउन केही समय अझै लाग्ने देखिएको छ ।”

राजमार्ग एकतर्फी सञ्चालनमा आएपछि अत्यावश्यक कामका लागि गुडेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । आँबुखैरेनी–मुग्लिङ सडकखण्डअन्तर्गत यस ठाउँमा बेलाबेलामा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । वर्षा नभएका बेलामा पनि यहाँ सुख्खा पहिराको समस्या रहँदै आएको छ ।