८ जेष्ठ २०८१, मंगलवार

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी, आज तीन जिल्लाका सीडीओको बैठक

lockdown 11

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ। उपत्यकाभित्र एक साताको लागि लगाइएको निषेधाज्ञा बुधवार रातिबाट सकिँदैछ।

गत भदौ ३ गते रातिबाट सुरु भई भोलि राति १२ बजेसम्मका लागि लागू गरिएको निषेधाज्ञा कम्तीमा एक हप्ता थप गर्ने तयारी गरिएको हो।

कोभिड-१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भदौ १० गतेसम्म जारी गरिएको निषेधाज्ञा अझैं लम्बिने देखिएको छ। यस बीच उपत्यकाभित्रका तीनै जिल्लामा देखिएको संक्रमण फैलिने दरमा कमी आएको छैन। त्यसैले पनि निषेधाज्ञा अझैं लम्बाउने निष्कषमा स्थानीय निकायका प्रमुखदेखि जनप्रतिनिधिसम्म पुगेका छन्।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आज बस्दै छ। बैठकले नै उपत्यकाभित्र निषेधाज्ञा कति समयको लागि थप गर्ने भन्ने विषयमा निर्णय गर्ने छ। सरकारले कोभिड संक्रमण रोकथामका लागि निषेधाज्ञा जारी गर्न जिल्ला प्रशासन कार्यालयलाई अधिकार दिएपछि प्रशासनले काठमाडौं उपत्यकाभित्र पहिलो चरणको निषेधाज्ञा जारी गरेको थियो।

आज बस्ने बैठकले एक साताको निषेधाज्ञाको समीक्षा गर्दै थप निषेधाज्ञा के कसरी गर्ने भन्ने विषयमा निर्णय गर्नेछ।

“बैठक डाकिएको छ। अहिले भइरहेको निषेधाज्ञा र संक्रमणको समीक्षा गरेर के गर्ने भन्ने निर्णय गर्छौं” जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख नारायणप्रसाद भट्टले भने।

एक हप्तासम्मको निषेधाज्ञाका कारण कोरोना संक्रमणको जोखिम न्यूनीकरणमा सहयोग पुगेको ठम्याईसहित निषेधाज्ञा अझै एक साता थप हुनसक्ने भट्टले बताए।

आज दिउँसो ३ बजे उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक काठमाडौंमा बस्न लागेको र बैठकले आवश्यकताका आधारमा निर्णय लिने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। एक हप्ताको निषेधाज्ञाको प्रभावकारीताका समीक्षा गर्ने, अझै कडा बनाएर निषेधाज्ञा लागू गर्नेबारेका सुझावहरु अध्ययन गर्ने र तीनवटै जिल्लाको विपद् व्यवस्थापन केन्द्र डीसीसीएमसीको सुझावका आधारमा अघि बढ्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए।

यता सोमवार बसेको काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले स्थानीय तहले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। त्यस्तै, बैठकले उपत्यकामा कोभिड-१९ संक्रमण झनै फैलिएकाले निषेधाज्ञाको अवधि थप्ने निष्कर्षमा पुगेको हो। अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न यसअघिको निर्णयलाई भदौ १५ गतेसम्म निरन्तरता दिने निर्णय गरेको थियो।

सोमवारमात्र काठमाडौंमा १ सय ७७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। यसैगरी, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। ५ सय भन्दा बढी एक्टिभ केस हुने पाँच जिल्लामध्ये काठमाडौं पनि एक हो। केही दिनयता काठमाडौं उपत्यकाभित्र दैनिक करिब २ सय संक्रमित थपिरहेका छन्।

हाल काठमाडौं उपत्यकामा दैनिक २ सयको हाराहारीमा संक्रमित थपिइरहेका छन्। निषेधाज्ञाकै बीच बिहान साँझ, हिँडडुल गर्ने, मास्क प्रयोग राम्रोसँग नगर्नेलगायतका गतिविधि देखिएको भन्दै यस्ता कार्यमा पनि थप कडाई गर्ने जिल्ला प्रशासन कार्यालयहरूको तयारी छ।