१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री फेरि अस्वस्थ, पार्टी बैठक सरेको सर्‍यै

KP Oli

काठमाडौं ३१ साउन | तीन दिनअघि सिंगापुरमा उपचार गराएर फर्केका प्रधानमन्त्री केपी शर्मा ओली फेरि बिरामी परेका छन् । उनी बिरामी परेपछि नेकपाको बिहीबारका लागि निर्धारित सचिवालय बैठक शुक्रबारसम्म स्थगित भएको छ ।

अपराहन ३ बजे सचिवालय बैठकका लागि नेकपा नेताहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ज्वरो आएका कारण सहभागी हुन नसक्ने भएपछि बैठक स्थगन गरी उनीहरू बाहिरिए । ‘प्रधानमन्त्रीलाई सामान्य ज्वरो आएकाले बैठक स्थगित गरियो,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘स्वास्थ्यमा सुधार आएपछि शुक्रबार बैठक बस्छ ।’

प्रधानमन्त्री ओली १० दिन सिंगापुरमा उपचार गराएर सोमबार स्वदेश फर्केका थिए । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्य केही बिग्रेपछि चिकित्सकले सिंगापुर जान सल्लाह दिएका थिए । सोहीअनुसार उनी सिंगापुर गएका थिए । उनको त्यहाँ के उपचार भयो, स्वास्थ्यमा के प्रगति भयो भन्ने प्रधानमन्त्रीको सचिवालयले औपचारिक रूपमा अहिलेसम्म सार्वजनिक गरेको छैन ।

फर्केलगत्तै ओलीले टवीटरमा आफू स्वस्थ रहेको लेखेका थिए । त्यसबाहेक उनको स्वास्थ्यसम्बन्धी कुनै रिपोर्ट बाहिर ल्याइएको छैन । मुलुकको कार्यकारी प्रमुखजस्तो व्यक्तिको स्वास्थ्यमा समस्या आएर विदेश गई उपचार गराउँदा पनि औपचारिक रूपमा सार्वजनिक नगरेको भन्दै सामाजिक सञ्जाललगायतमा आलोचना भइरहेको छ । फर्केलगत्तै ज्वरोको समस्या देखिएको भनिएको छ । पार्टी प्रवक्ताले ‘ज्वरो आएको’ जानकारी दिएका छन् ।

बैठक सरेको सर्‍यै

आन्तरिक विवाद मिलाउनका लागि बस्ने भनिएको नेकपा सचिवालय बैठक सरेको सर्‍यै छ । प्रधानमन्त्री गत शुक्रबार फर्केलगत्तै नेताहरूसँग अनौपचारिक छलफल गरेका छन् । तर विभागको नेतृत्व, पोलिटब्युरो गठनलगायत विषयमा ठोस प्रस्ताव तयार हुन सकेको छैन । त्यसैका लागि बैठक बस्ने भनिए पनि मंगलबारदेखि बैठक सरेको सर्‍यै छ । मंगलबार र बुधबार तयारी नपुगेको भन्दै बैठक बिहीबारका लागि सारिएको थियो । बिहीबार प्रधानमन्त्री बिरामी भएको भन्दै शुक्रबारका लागि सारिएको छ ।

अध्यक्षहरू विदेशमा रहेका बेला महासचिव विष्णु पौडेलले केन्द्रीय समितिमा रहने व्यक्तिको रुचि बुझेका थिए । कुन नेता कुन समितिका लागि इच्छुक छ, त्यसको प्रारम्भिक रिपोर्टिङसहितको प्रतिवेदन पौडेलले तयार गरेका छन् । उक्त प्रतिवेदनमाथि छलफल सुरु नभएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । प्रतिवेदनमा विभागमा बस्न चाहने नेताहरूको प्राथमिकतालगायत विषय राखिएको छ । सचिवालयको बैठकमा प्रतिवेदन औपचारिक रूपमा आएपछि त्यसको आधारमा छलफल गरेर टुंगो लगाउने उनले जानकारी दिए ।

विशेषगरी स्कुलसहितका केही विभागको नेतृत्व, पोलिटब्युरो चयन, अनुशासन आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्, लेखापरीक्षण आयोगलगायत गठन बाँकी छ ।

स्रोत : कान्तिपुर दैनिक

    सम्बन्धित समाचार...