२४ बैशाख २०८१, सोमबार

तुइनको सहारामा वारपार

tuin nepal 1
फाइल फोटो

जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग सडकखण्ड जोड्ने बेलिब्रीज बगाएपछि विच्छेद बनेको पदैल यात्रा तुइन जडानसँगै जोडिएको छ ।

पैदल यात्रा समेत रोकिएको अवस्थामा जडाङ्गा र ओलेनाका स्थानीयवासीले बुढीगङ्गा नदीमाथि तुइन जडान गरेर यात्रा सहज बनाएका हुन् । बेलिब्रीज बगाएकै स्थानमा स्थानीयवासीले तुइन जोडेर पैदल यात्रुलाई सेवा दिइरहेका छन् । जडाङ्गा र ओलेनका स्थानीयवासीले विहानदेखि बेलुकासम्म तुइनबाट सर्वसाधारणलाई वारपार गर्ने गरेका छन् ।

बुढीगङ्गा नदीमाथि बनेको बेलिब्रीजबाट जाने आउने गरेका स्थानीवासी बेलिब्रिज बगाएपछि राजमार्गमा जान आउन निकै सास्ती हुने भएकाले सोही ठाउँमा तुइन जडान गरिएको स्थानीयवासीले बताएका छन् । तिपाडा क्षेत्रमा पुल भएपनि त्यहाँ पुग्न धेरै समय लाग्ने भएका कारण तुइनलाई नै सर्वसाधारणले प्रयोग गर्ने गरेका छन् । “तुइनको साहरामा नदी वारपार गर्नुपर्छ”, रेडियो बाजुराका स्टेशन म्यानेजर कृष्ण ओलीले भन्नुभयो ।

तुइनको साहराबाट वारपार गर्दा कुनै पनि वेला मानवीय क्षति हुन सक्ने हुँदा स्थानीय तहलगायत सम्बन्धित पक्ष यस बारे गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । तुइनको साहराबाट यात्रा गर्दा प्रतिव्यक्ति एकतर्फी रु ५० लिन गरिएको बताइएको छ ।

काठेपुल बगाउँदा समस्या

गौमुल गाउँपालिका–३ गर्जेमा काठेपुल बगाउँदा आवतजावतमा समस्या भएको छ । स्थानीय खहरे खोलामा आएको बाढीले पाँचभन्दा बढी काठेपुल बगाएपछि आवतजावतमा समस्या भएको वडासदस्य सीता धामीले जानकारी दिनुभएको छ ।

एकाएक आएको बाढीका कारण स्थानीयवासीको घट्ट र काठेपुलसहित दर्जन बढी बस्तीहरु जोखिममा परेका छन् । बाढीले घट्ट बगाउँदा कुटानीपिसानीका लागिसमेत समस्या भएको स्थानीवासी बताउँछन् । बाढीले स्थानीयवासीका घरखेतमा क्षतिसमेत पु¥याएका छन् । “खेतबारीमा लगाएको अन्नबाली पूरै बगरमा परिणत भएको छ”, स्थानीयवासी सुरेश बोहराले भन्नुभयो, “काठेपुल बगाउँदा आवतजावतमा समस्या भएको छ ।”

बाढीका कारण यहाँका बस्तीहरु जोखिममा परेको बताइएको छ । बाढीले पुल बगाउँदा एक गाउँबाट अर्को गाउँ तथा एक टोलबाट अर्को टोलसँगको सम्बन्ध विच्छेद भएको छ ।

बाढी पीडितलाई राहत

बाजुरा उद्योग वाणिज्य सङ्घले जिल्लाका बाढी पहिरो पीडितलाई राहत सहयोग गरेको छ । जिल्लाका विभिन्न स्थानीय तहमा बाढी पहिरोका कारण करोडौं मूल्य बराबरको क्षति भएको छ । बाढी पहिरोमा परेर समस्यामा परेकालाई राहत सहयोग गरिएको सङ्घका अध्यक्ष देब बहादुर रोकायाले बताउनुभयो ।

सङ्घ र मार्तडी बजार व्यवस्थापन समितिले संयुतm रुपमा राहत सङ्कलन गरी बाढी पहिरो पीडितलाई राहत विरतण गरिएको मार्तडी बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लले जानकारी दिनुभयो ।