१२ बैशाख २०८१, बुधबार

भारतका पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था स्थिर

Pranab Mukherjee

अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । हप्ता दिनभन्दा बढी समयदेखि अचेतन अवस्थामा रहनु भएका उहाँको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले स्पष्ट पारेको छ ।

अस्पतालले शनिबार दिएको जानकारीअनुसार ८४ बर्षीय नेता मुखर्जीको अधिकांश संकेतहरु स्थिर रहेको छ । उहाँलाई स्वासप्रश्वासमा समस्या भएपछि उहाँलाई यही अगस्टको १० तारिखका दिन दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भर्ना गरिएको हो ।

पूर्व राष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ । उहाँको दिमागमा समेत असर परेकाले उहाँ अहिलेपनि अचेत अवस्थामै रहनु भएको चिकित्सकहरुले बताएका छन् ।

उहाँलाई स्वासप्रश्वास सम्वन्धी समस्या देखिएपछि कोरोना परीक्षण गर्दा उहाँ कोरोनाभाइरसबाट सङ्क्रमित पनि भएको देखिएको थियो ।“श्री प्रणब मुखर्जीको अवस्था अहिले पनि उस्तै रहेको छ, पहिले जस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन,” अस्पतालद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

स्वासप्रश्वासमा समस्या भएकाले भेन्टिलेटरको सहयोगमा उहाँलाई स्वासप्रश्वास गराइरहेको पनि अस्पतालले जनाएको छ । नेता प्रणव मुखर्जीले भारतको १३औँ राष्ट्रपतिका रुपमा सन् २०१२ देखि २०१७ सम्म राष्ट्रको नेतृत्व गर्नुभएको थियो ।