२५ बैशाख २०८१, मंगलवार

बुटवलमा मलामी गएकाहरुमा धमाधम देखिन थाल्यो कोरोना, किरिया गराउने पण्डित पनि संक्रमित

corona 1

बुटवलमा एक जना महिलाको मलामी गएका ९० प्रतिशतलाई कोरोनाको संक्रमण देखिएको छ।

बुटवल उपमहानगरपालिका–११ स्थित कालिकानगरकी एक महिलाको मृत्यु भएपछि उनको मलामी गएका तथा मलामीको सम्पर्कमा रहेका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कन्ट्याक्टको ट्रेसिडको आधारमा हालसम्म १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने थप ७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

साउन १८ गते बुटवल उपमहानगरपालिका- ११ कालिकानगरकी ती ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्यु भएको थियो।

उनी क्यान्सरको उपचारका लागि अस्पतालमा पुगेकी थिइन् । त्यहाँ मृत्युपछि परिवारले कोरोना परीक्षण गर्न पर्छ कि भनेर सोधेका थिए। किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भन्दै अस्पतालले कोरोना परीक्षण नगरी पठाइदिएको उनीहरुको भनाइ छ ।

सामान्य मृत्युजस्तै ठानेर छिमेकी र नातागोता १८ गते बुटवलको मैनाबगरमा मलाली पुगेका थिए । त्यहीँबाट कोरोना सरेको धेरैको बुझाइ छ ।

उनको दाहसंस्कार गरेर आएको केही दिनमै मृतकका देवरलाई कोरोनाको जस्तै लक्षण देखिए। शंका लागेर जाँच्दा साउन २२ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आयो।

मृतकका देवरमा कोरोना पोजिटिभ देखिएपछि दाहसंस्कारमा सहभागी भएकाहरूले परीक्षण थाले। बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार ती महिलाका देवर नेकपाका स्थानीय कार्यकर्ता हुन्। 

त्यसपछि मलाली पुगेका र मृतकका आफन्तहरुको कन्ट्याक्ट ट्रेसिड गर्न सुरु गरिएको हो ।

‘अहिलेसम्म ४५ जनाको स्वाब परीक्षण गर्दा ९० प्रतिशतमा कोरोना पोजिटिभ देखिएको छ,’ भट्टराईले भने।  जसमा हालसम्म ३८ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको छ । ७ जनाको रिपोर्ट आउन बाँकी छ ।

मृतक महिलामा कोरोना भएका कारण अरूमा सर्‍यो कि उनका देवरबाट अरूलाई संक्रमण फैलियो भन्ने एकिन भइसकेको छैन। भरतपुर क्यान्सर अस्पतालले ती महिलाको उपचारमा संलग्न चिकित्सक वा अन्य स्वास्थ्यकर्मीमा संक्रमण देखिएको पुष्टि गरेको छैन। 

कोरोनाको आशंकामा सुरुमा कोरोना परीक्षण गराउने मृतकका देवर हाल बुटवल उपमहानगरपालिकाले निर्माण गरेको एन्फा एकेडमीको आइसोलेसन अस्पतालमा बसेका छन् । अस्पतालका अध्यक्ष, अपसेरन गर्ने चिकित्सक र अस्पतालका सूचना अधिकारीसँग यसबारे बुझ्दा मृतकमा कोरोनाको हुनसक्ने कुनै आधार नभएको बताएको आफन्तको भनाइ छ ।

मृतकका देवरले भने, ‘मृतकमा कोरोना भएको डाक्टरले भनेका छैनन् । हामी कतै अन्य मानिसहरु सम्पर्कमा थिएनौँ, बरु शव ल्याउने एम्बुलेन्स र छोरी ज्वाइँलाई काठमाडौबाट बुटवल ल्याएको एम्बुलेन्सबाट सरेको हो कि भन्ने आशंका छ ।

सो घटनापछि बुटवलमा कोरोनाको संक्रमण समुदायस्तरमा भूसको आगोजसरी फैलिएको सरोकारवालाहरूले बताएका छन्।

१७ गते राति मृत्यु भएपछि शब एम्बुलेन्समा राखेर बुटवल १८ गते बिहान ल्याइएको थियो भने काठमाडौमा बस्ने छोरीज्वाईँहरु पनि एम्बुलेन्समा दिउसो १ बजे बुटवल आएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका अनुसार बुटवलमा कोरोना संक्रमण समुदायमै पुगिसकेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले बुटवलमा कोरोना संक्रमण समुदायमै पुगिसकेको र यसको नियन्त्रणको लागि एकअर्का बीचको सम्पर्कलाई टुटाउनु पर्ने बताए। पछिल्लो समय दिनदिनै बढिरहेका संक्रमितले पनि बुटवलमा संक्रमणको क्रम तीव्र छ भन्ने देखाउँछ।

बुटवलमा अहिलेसम्म १४४ जनामा संक्रमण देखिएको छ । बुटवल ११ मा सवैभन्दा धेरै कोरोना संक्रमित रहेका छन् । जहाँ ती मृतकका आफन्त, मलामी जाने टोलछिमेकी र किरियाकर्म गराउने पण्डितलाई समेत गरी १८ संक्रमण पुष्टि भएको छ। अन्य वडामा भन्दा धेरै संख्या देखिनुमा सो घटना पनि रहेको नगरपालिकाले स्वास्थ्य माहाशाखाले जनाएको छ ।

साउन २२ गतेसम्म २७ जनामात्र कोरोना संक्रमित रहेको बुटवलमा १५ दिनमा १ सय १७ जना थपिएर अहिले १ सय ४४ जना पुगेका छन्।

नगरपालिका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले महिलाको मृत्युपछि मलामी गएका र उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिड सकिएको बताए ।
बुटवल उपमहामहानगरपालिकाले साउन २९ गतेदेखि घोषणा गरेको लकडाउनपछि सडकमा मानिसको उपस्थिति निकै कम छ ।

थपिएकामध्ये अधिकांश तीनै मृतक महिलाका आफन्त तथा टोलछिमेक र अन्त्येष्टिमा सहभागी छन्। उनको किरिया गराउने पण्डितलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ।

उपमहानगरपालिकाले भदौ ७ गतेसम्म लकडाउन जारी राखेको छ। यद्यपि बुटवलमा कोरोनाका संक्रमित थपिँदै गएपछि आइसोलेसनका बेड भरिएका छन्। अहिले थपिएका संक्रमितलाई घरघरमै सुरक्षित रूपमा बस्न आग्रह गर्दै आएको महाशाखा प्रमुख खनालले बताए । उनले बुटवलका अझै खतरा रहेकोले परीक्षण दायरा बढाउन लागिएको बताए । बुटवलको लकडाउन पनि अझै थप्नुपर्ने उनको भनाइ छ ।

बुटवलमा फैलिएको संक्रमणको असर छिमेकी पालिका तिलोत्तमा, सैनामैना, देवदह र सिद्धार्थनगरमा पनि परेको छ।

पहिलो चरणको लकडाउनको अवधिमा भारतीय खुल्ला सीमाना बेलहिया हुँदै भारतबाट आएका हजारौं नेपाली र पैदल हिँड्दै आएका मेचीदेखि महाकालीसम्मका मजदुरलाई आश्रय दिएको बुटवलले संक्रमणबाट आफूलाई जोगाएको थियो।

पछिल्लो १५ दिनयता दिनदिनै संक्रमित थपिँदै गएपछि सर्वसाधारण त्रसित बनेका छन्।

रिपोर्ट आउन ढिलाइ

कालिकानगरकी ती महिलाको मृत्यु १७ गते राति भएपछि उनका आफन्त मलामी गएकाहरु कन्ट्याक्ट ट्रेसिड सामान्यतः एक हप्तामा सक्नुपर्ने हो । तर २२ गते मृतकको देवरको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि मलाली गएका र संक्रमितसँग सम्पर्कमा रहेका व्यक्तिहरुले पीसीआर गर्नका लागि स्वाब दिए । तर अझै ७ जनाको रिपोर्ट आएको छैन । उनीहरुको स्वाब भैरहवामा रहेको गहुवाली कोरोना ल्यावमा पेन्डिङमा रहेको छ ।

मलाली गएकामध्ये कोरोना पोजेटिभ देखिएका कोही बुटवलको एन्फा एकेडमीमा रहेको आइसोलेसन अस्पतलमा बसेका छन् भने केही घरमै आइसोलेट बनेर बसेका छन् । उनीहरु सवैको स्वस्थ्य अवस्था राम्रो रहेको छ । उनीहरुमा कोरोनाको लक्षण पनि देखिएको छैन।

बुटवल उपमहामहानगरपालिकाले साउन २९ गतेदेखि घोषणा गरेको लकडाउनपछि सडकमा मानिसको उपस्थिति शुन्य प्राय: छ। उपमहानगरपालिकाले भदौ ७ गतेसम्म लकडाउन जारी राखेको छ।

साउन २२ गतेसम्म जिल्लाभर कुल ३ सय ५० जनामा संक्रमण पुष्टि हुँदा सबैभन्दा बढी जनसंख्या रहेको र दैनिक मानिसको चाप रहने बुटवलमा जम्मा २७ जना संक्रमित थिए। शुक्रबारसम्म आइपुग्दा भने जिल्लाभर संक्रमितको संख्या ६ सय १० पुग्दा बुटवलमा मात्रै १ सय ४४ पुगेको छ।

बुटवलमा कोरोनाका संक्रमित थपिदै गएपछि आइसोलेसनका बेड भरिएका छन्। अहिले थपिएका संक्रमितलाई घरघरमै सुरक्षित रूपमा बस्न आग्रह गर्दै आएको छ।

होम आइसोलेसनमा बसेका संक्रमितलाई बुटवलका मेयर शिवराज सुवेदीले जटिबुटीसहितको आयुर्वेदिक औषधी र स्वास्थ्यलाभको पत्र बोकेर घरघरमा  पुर्‍याइरहेका छन्।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवी आचार्यले अस्पताल, भारतीय मजदुर र बैंकमा रहेको नगदबाट बुटवल कोरोना फैलिएको बताइन्।

बुटवल वडा नम्बर १६ मा भेटिएका संक्रमित भरतपुर अस्पतालबाट फर्किएका थिए। त्यस्तै वडा नम्बर १५ मा भेटिएका संक्रमित भारतीय मजदुर हुन्। उपप्रमुख आचार्यले अहिले संक्रमण पुष्टि भएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब परीक्षण गर्दै आएको बताइन्।