४ बैशाख २०८१, मंगलवार

तनहुँका नौ पालिकामा निषेधाज्ञा

tanahu DAO

जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लाका १० पालिकामध्ये नौ पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयद्वारा पाँच र पालिकास्तरबाट चार पालिकामा निषेधाज्ञा गरिएको हो । ऋषिङ गाउँपालिकामा भने लकडाउन गरिएको छैन ।

लकडाउन नगरिए पनि सर्तकता अपनाएर काम गरिएको र सवारी साधान अत्यावश्यकबाहेक गुड्न रोक लगाइएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

समुदायस्तरमा कोरोना सङ्क्रमित बढ्दै गएपछि जिल्लाको भानु नगरपालिका, व्यास नगरपालिका, शुक्ला गण्डकी नगरपालिका, भिमाद नगरपालिका र देवघाट गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो ।

त्यसैगरी घिरिङ, बन्दिपुर, आँबुखैरेनी र म्याग्दे गाउँपालिका क्षेत्रहरुमा पालिकास्तरबाट निर्णय गरी एक साताको लागि अत्यावश्याक बाहेकका अन्य सेवा सुविधा बन्द गरिएको छ । भानु र व्यासमा यसअघि नै निषेधाज्ञा गरिसकिएको छ । शुक्ला गण्डकी, भिमाद र देवघाटमा बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्मको लागि निषेधाज्ञा गरिएको हो । पछिल्लो समय समुदायमा कोरोना पोजेटिभ देखिन थालेपछि भानु नगरपालिकाका, व्यास नगरपालिका, भिमाद नगरपालिकाको सबै वडा, शुक्लागण्डकी नगरपालिकाको २ देखि ९ वडा र देवघाट गाउँपालिकाको ५ नं वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।

भानु नगरपालिकामा २५, व्यास नगरपालिकामा हालसम्म आठ, देवघाटमा तीन, शुक्लागण्डकी नगरपालिकामा एक र बन्दिपुरमा एक गरी ३८ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी बन्दिपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाले भने प्रशासनसँग अनुमति नलिई पालिका तहबाटै अत्यावश्यक बाहेकका अन्य सबै सेवा सुविधा बन्द गर्ने सहमति गरी बजार बन्द गर्दै आएका छन् ।

बन्दिपुर गाउँपालिकाले समुदायमा कोरोना पुष्टि भएपछि साउन ३० गतेबाट लकडाउन गरेको छ । समुदायस्तरमा कोरोना देखिन थालेपछि सुरक्षाको दृष्टिले लकडाउन गरिएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताउनुभयो ।

त्यसैगरी आँबुखैरेनी गाउँपालिकाको छिमेकी नगरपालिका तथा गाउँपालिकाको समुदायस्तरमा कोरोना सङ्क्रमण देखिन थालेपछि उच्च जोखिममा रहेको भन्दै एक हप्ताको लागि बन्द गरेको छ ।

भदौ १ गतेदेखि लागू हुने गरी एक हप्ताको लागि बजार तथा कार्यालयका अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु सञ्चालन गर्न रोक लगाइएको अध्यक्ष गीरबहादुर थापाले जानकारी दिनुभयो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम सङक्रमित जोखिम क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्याले जानकारी दिनुभयो ।

tanahu dao lockdown