८ बैशाख २०८१, शनिबार

काठमाडौंमा निषेधाज्ञा उल्लङ्घन गर्ने ५ सय बढी समातिए, दुई सय बढी सवारी प्रहरीको नियन्त्रणमा

lockdown 20days 1
फाइल फोटो

स्थानीय प्रशासनले काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएको छ।

निषेधाज्ञा कार्यन्वय गराउनको लागि सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। प्रहरीले अनावश्यक रुपमा सडकमा निस्किएका मानिसलाई नियन्त्रणमा लिएको छ।

जारी निषेधाज्ञा उल्लंघन गर्ने दुई सय बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कोटेश्वर, बानेश्वर, जावलाखेललगायत स्थानबाट सवारीसाधन नियन्त्रण लिने काम जारी रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

आज बिहान ९ बजेसम्म ५ सय १० जना मानिसलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। ३ सय ५३ जना पुरुष र १ सय ५७ जना महिलालाई नियन्त्रणमा लिएको हो। प्रहरीले यसरी नियन्त्रणमा लिएका मानिसलाई सडकमा नै बनाइएको होल्डिङ सेन्टरमा राखेको छ।

‘सवारीसाधनलाई पक्राउ गरी मानिसहरूलाई फर्काइएको छ,’ महाशाखा प्रवक्ता वामदेव गौतमले भने।

पक्राउ परेका सवारीसाधनलाई भोलिदेखि ननिस्कन अनुरोध गरी साँझ छाडिने गौतमले बताए।

महानगरीय प्रहरी परिसर काठमाडौंले अनावश्यक काममा निस्केका मानिसहरूलाई घर फर्काइएको जनाएको छ।

त्यस्तै, अनावश्यक रुपमा गुडाएका सवारी साधन समेत नियन्त्रणमा लिएको छ। दुई र चार पाङग्रे गरेर २ सय ४२ वटा सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

पटक-पटक उल्लंघन गरे संक्रामक रोग ऐनअनुसार कारबाही गरिने परिसरले जनाएको छ।

प्रशासनले काठमाडौं उपत्यकाभर सात दिनका लागि आजैबाट निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमण बढेपछि प्रशासनले उपत्यकालाई सुरक्षित राख्न निषेधाज्ञा जारी गरेको हो।