१६ चैत्र २०८०, शुक्रबार

अछामको रामारोशनमा बाढीले बगाएर १७ बेपत्ता, मृतकको संख्या ६ पुग्यो

accham badhi ramaroshan2

अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १७ जनालाई बेपत्ता बनाएको छ ।

बाढीले बगाएका थप २ जनाको शव फेला परेको छ । योसँगै बढीमा बगेर मृत्यु हुनेको संख्या ६ पुगेको छ । अझै पनि १७ जना बेपत्ता छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।

बाढीले दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको छ । बेपत्ता १७ जनाको पहिचान खुलिसकेको उपाध्यक्ष सरस्वती रावलले बताइन् 

रामारोशन गाउँपालिका उपाध्यक्ष रावलका अनुसार कैलाश खोलाले सैनबजार क्षेत्र पुरै बगाएको छ । त्यहाँ रहेका करिब १६ घर बाढीले बगाएको छ । सैन बजार अहिले बगरमा परिणत भएको उपाध्यक्ष रावलले बताइन् । प्रहरीले भने यकिन विवरण आउन बाँकी रहेको जनाएको छ ।

बाढीले २२ घर बगाएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको उद्धार टोली जाँदै छ । स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्धार टोली रामारोशन पठाउने तयारी गरिरहेको छ ।  बाढीले बगाउँदा वर्ष ४० का हिक्मत शाही घाइते भएका छन् । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् । उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ जाने तयारीमा छ ।