१६ चैत्र २०८०, शुक्रबार

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा: के गर्न पाइने, के गर्न नपाइने, के खुल्छन्, के खुल्दैनन्?

lockdown day2 6

काठमाडौं उपत्यकाभित्र आज(बुधबार) राती १२ बजेदेखि सात दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुख सम्मिलित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

संक्रामक रोग ऐन २०२० को दफा २ एवम् न्याय प्रशासन ऐन २०२८ को दफा ६ (३)बमोजिम भदौ ३ गते राति १२ देखि १० गते रातिसम्म निषेधाज्ञा जारी गरिएको काठमाडौं प्रशासनले जनाएको छ।

यो निषेधाज्ञामा औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाट ननिस्कन भनिएको छ।

यस्तै, अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य सबै व्यापार-व्यवसाय बन्द गरिने छ।

अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौंमा सवारी साधन भित्रिन दिइने छैन। जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन पनि बन्द हुनेछन्।

कोभिड-१९ को संक्रामण जोखिम नियन्त्रण, रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनुपर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा जान/फर्कन पर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम् कर्मचारी संख्या निर्धारण गरी परिचयपत्रको आधारमा सवारीसाधन सञ्चालन गर्न पाउने छन्।

उनीहरूका लागि बिहान ९ देखि साढे १० र अपराह्न ३ देखि साँझ ५:३० सम्म आवागमन का लागि साधन चलाउन दिइने छ।

अत्यावश्यकीय वस्तु, सेवा अन्तर्गत पर्ने औषधी, खाद्यान्न, फलपूल, ग्यास, इन्धन, दुग्ध, विद्युत, सञ्चार, मृत्यु संस्कार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, अस्पताल जाने आउने बिरामीलगायतलाई सवारीसाधन चलाउन दिइने छ।

यस्तै, कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन हुन पाउने छैन। मानिसहरू भेला / जम्मा हुन र भिडभाड गर्न पाइने छैन।

प्रशासनका अनुसार परम्परागत रुपमा भई आएको दैनिक नित्य पूजाबाहेक धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न र जमघट हुन दिइने छैन। शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्युसन सेन्टर, भाषा कक्षालगायत बन्द रहनेछन्।

सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, ब्यूटीपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालयहरू बन्द रहने छन्।

यस्तै, फुटपाथ वा खुला ठाउँमा, ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय पनि बन्द रहने छन्। होटल-रेष्टुराँ सबै बन्द रहने छन्। बैंकिङ सेवालगायत भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन, न्यूनतम् कर्मचारी राखी स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गराउनलगायत निर्णय प्रशासनले गरेको छ।

लकडाउन भन्दा कडा हुँदै निषेधाज्ञा

बुधवार तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गर्ने निर्णय गरेका हुन्।

‘यो लकडाउन भन्दा धेरै कडा हुन्छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘यसमा लकडाउनमा जस्तो सम्झाउने बुझाउने मात्र होइन, सोझै कारवाही हुन्छ।’

निषेधाज्ञाको समयमा निजी तथा सार्वजनिक सवारी साधन गुडाउन पाइने छैन। तर, अत्यावश्यक सामाग्री, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन भने गुड्नेछन्। त्यस्तै, औषधि, इन्धन, तरकारी फलफूल, विद्युत्, दूध, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पतालमा आउन-जान र मृत्यु संस्कारमा सहभागी हुनका लागि प्रयोग गर्ने सवारी सञ्चालन गर्न भने रोक लगाइएको छैन।

‘अत्यावश्यक बाहेक निषेध गरिएका सवारी साधन गुडाउन पाइने छैन। हामी कडाइका साथ कार्यन्वयन गर्छौं,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने।

सरकारले काठमाडौं उपत्यका लगायत २ सय भन्दा बढी एक्टिभ संक्रमित भएको जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोरको आधारमा सवारी संचालन गर्दै आएको थियो। लामो दुरीका सार्वजनिक सवारी साधन चैतको पहिलो साताबाट बन्द नै छन्।

निषेध गरेका गतिविधिहरू:

१. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन।

२. अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवयास सञ्चालन गर्न।

३. अत्यावश्यक सामग्री लगायताका मालवाहक डुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरषा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रयोग गर्न।

४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न। 

५.कोभिड–१९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने  अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यलयले जारी गरेको फोटो सहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि १० : ३० र बेलुकी ३ बजेदेखि ५:३० सम्म अवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न।

६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय बस्तु तथा सेवा अन्तर्गत पर्ने, औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार भन्सार क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न।

७. कुनै पनि मेला, महोत्सव जात्रा सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न।

८. परम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा वाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चलन तथा जमघट गर्न।

९. शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न।

१०. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलुन, ब्यूटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न।

११. फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चलन हुने विभिन्न व्यावसाय सञ्चालन तथा कवाडी संकलन गर्न।

१२. होटल, रेष्टुरा सञ्चालन गर्न।

तर,

१३. बैंकिङ सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विधुतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्युनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी मावश्यक सेवा प्रवाह गर्नुपर्नेछ।

१४. अत्यावश्यक कार्यकालागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नुपर्नेछ।

१५. हवाई उडानबाट विदेश जानेहरुको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ।
साथै,

१६. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरु उपर कानूनबमोजिम कारबाही हुनेछ।

१७. यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ।

ktm
CDO