७ बैशाख २०८१, शुक्रबार

कर्णालीमा चाडपर्वमा निषेधाज्ञा

Karnali I2VYaB4kim

चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्न थालेपछि स्थानीय प्रशासनले प्रदेश राजधानी वीरेन्द्रनगर सहितका स्थानमा निषेधाज्ञा लागू गरेको छ । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन नदिन सम्बन्धित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले महिलाको पर्व हरितालिका तीजमा झन् भीडभाड हुने हुँदा निषेधाज्ञा जारी गर्नुपरेको बताएको छ ।

वीरेन्द्रनगरमा सोमबार बिहानैदेखि लागू गरिएको निषेधाज्ञा पाँच गतेसम्म जारी रहनेछ । साउन २९ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरेन्द्रनगरमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

त्यस्तै, जुम्लाको चन्दननाथ, तातोपानी, हिमा, सिञ्जा, गुठीचौर, कनकासुन्दरी गाउँपालिका तथा मुगुको गमगढीमा पनि निषेधाज्ञा लागू छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा बुधबारदेखि निषेधाज्ञा लागू छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बजारमा अत्याधिक भीड, नजिकिँदै गरेको तीज पर्व र कोरोना सङ्क्रमणको जोखिम समुदायस्तरसम्म पुगेकाले निषेधाज्ञा जारी गर्नुपरेको बताउनुभयो ।

निषेधाज्ञाका लागि प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका, उद्योग वाणिज्य सङ्घलगायत नागरिक सङ्घ सङ्गठनहरु सहमत भएकाले निषेधाज्ञा कार्यान्वयन गराउन सहज भइरहेको उहाँको भनाइ छ । प्रजिअ रेग्मीले निषेधाज्ञा उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही प्रक्रिया अघि बढाइने बताउनुभयो ।

स्थानीय प्रशासनका अनुसार निषेधाज्ञा अवधिभित्र स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, तरकारी जस्ता अत्यावश्यक सेवा तथा व्यवसाय सञ्चालन गर्न पाइने छ ।

कार्यालयमा स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवाका कार्यालयबाहेक बैङ्क, वित्तीय संस्था, सहकारी लगायतका सेवा बन्द हुनेछन् । निषेधाज्ञा अवधिभित्र दाहसंस्कार कार्यमा बढीमा १५ जना सहभागी हुन पाइनेछ भने धार्मिक, सामाजिक लगायतका जमघट गर्न पाइने छैन ।

एम्बुलेन्स, शववाहन, दमकल, भिआइपीका झण्डासहितका सवारी साधन, सुरक्षा, स्वास्थ्य, कुटनीतिक नियोगका सवारी साधन तथा प्रेस तथा सञ्चारकर्मीका सवारी साधन मात्र यस अवधिमा चलाउन पाइनेछ ।

वीरेन्द्रनगरमा निषेधाज्ञा लागू भएसँगै सुर्खेतकै भेरीगङ्गा नगरपालिकाका मुख्य बजार क्षेत्र बन्द गरिएका छन् । कर्णाली प्रवेशको मुख्य नाका बबई यही नगरभित्र पर्दछ । नगर उपप्रमुख रेणु ढकालले दैनिकजसो हुने भीडभाडले कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि बजार बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाभित्रका छिन्चु, जहरे, झिङ्नी र रामघाट बजार आजदेखि भदौ ५ गते राति १२ बजेसम्म बन्द हुनेछन् । बजार बन्दसँगै नाकामा पनि प्रवेश कडा पारिएको छ ।

प्रहरीले बबई नाकाबाट पछिल्ला सम्बन्धित यात्रुको तीन दिन यताको पिसिआर रिर्पोट हेरेर मात्र कर्णाली प्रवेश गराउन थालेको छ । यसअघि यहाँ पिसिआर अनिवार्य गरिएको थिएन ।