१३ बैशाख २०८१, बिहीबार

कीर्तिपुरको बल्खु खोलामा एक पुरूषको शव डुबेको अवस्थामा फेला

Dead

कीर्तिपुर नगरपालिका र चन्द्रागिरीको तीनथान जोड्ने झोलुंगे पुलमुनी एक पुरुषको शव फेला परेको छ ।

आइतबार बिहान कीर्तिपुर नगरपालिका-२ मक्वाचाबाट चन्द्रागिरी नगरपालिका-१५ नैकाप जाने झुलुङ्गे पुलमुनि एक पुरूषको शव फेला परेको हो।

कीर्तिपुर–२ र चन्द्रागिरी–१५ को सिमानामा पर्ने बल्खु खोलाको पुलमुनी शव फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ । अन्दाजी ४०–५० वर्षको उमेरका पुरुषको शव टाउकोमा चोट लागेको र दुवै हात भाँचिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा हत्या गरेर फालेको हुनसक्ने आशंका गरिएको छ । हाम्फालेर आत्महत्या गरेको पनि हुनसक्ने भन्दै प्रहरीले पहिचानका लागि सामाजिक संजालमार्फत शवको फोटो सार्वजनिक गरेको छ ।

‘बिहान ७ बजे हामीलाई शव फेला परेको भन्ने खबर आएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो,’ महानगरीय प्रहरी वृत्त कीर्तिपुर डिएसपी रूकेश तण्डुकारले भने | खोला किनारमा अड्किएको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको डिएसपी तण्डुकारले जानकारी दिए ।

‘सनाखत भइसकेको छैन। त्यसैले हामीले शवको तस्बिर पनि फेसबुकबाट सार्वजनिक गरेका छौं,’उनले भने।

अहिले शव पोष्टमार्टमाका लागी त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।