१३ बैशाख २०८१, बिहीबार

जगदम्बा स्टिलमा कार्यरत ६ जना कोरोना संक्रमित मजदुर फरार, उद्योगमा तालाबन्दी

jagadamba steel bara
प्रजिअ पण्डितको फेसबुकबाट ।

करिडोरको सबैभन्दा ठूलो उद्योग जगदम्बा स्टिलले मध्यरातमा कामदार भित्र्याएको भन्दै स्थानीयले घेराउ गरेर जनप्रतिनिधि र सुरक्षाकर्मीकै उपस्थितिमा उद्योगको मुल गेटमा तालाबन्दी गरिएको छ |

साउन २५ गते उद्योगमा कार्यरत ११ जना कामदारमा कोरोना स‌ंक्रमण पुष्टि भएकोमा ६ जना संक्रमित सम्पर्क विहीन भएका छन् । काराखानामा कार्यरत रहेका मजदुरहरुको पिसिआर टेष्ट गरिएकोमा ६ जना सँक्रमण पुष्टि भएका कामदारहरु सम्पर्क बिहीन भएको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय बाराले सम्पर्कविहीन रहेका ६ जना संक्रमितको विवरण दुई दिनभित्र सार्वजनिक गर्न आदेश दिँदै उक्त उद्योगलाई सिल गरेको छ ।

काराखनामा कार्यरत रहेकै बेला स्वाब सँकलन गराएका कामदारहरु रिपोर्ट आउनु भन्दा अगावै कारखानाबाट फरार भएको उनले बताए । ती कामदारहरु भारतीय भएको हुन सक्ने भन्दै भारतमा पनि उनीहरुको बारेमा खबर गरिसकिएको मिश्रले बताए। उद्योगमा कार्यरत श्रमिक, कामदार कर्मचारी मध्ये १ सय २३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनीहरुले समुदायमा कोरोना संक्रमण फैलाउन सक्ने जोखिम बढेको गुनासो आएपछि उद्योग सिल गर्नुको साथै संक्रमतिको विवरण सार्वजनिक गर्न आदेश दिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

उद्योगकोतर्फबाट संक्रमित व्यक्तिहरुलाई राख्न उद्योग परिसर बाहिर छुट्टै आइसोलेसन सेन्टरको व्यवस्था गराउनुपर्ने, संक्रमित व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिहरुको (परिवार समेत)को पीसीआर परीक्षण गर्ने व्यवस्था उद्योगले मिलाउनुपर्ने, सम्पर्कविहीन भएका संक्रमितहरुको वतन, सम्पर्क नम्बर पत्ता लगाएर प्रशासन, स्वास्थ्य संस्थासँग सम्पर्कमा ल्याउने र उनीहरुलाई आइसोलेसनमा राख्नुपर्ने आदेश प्रशासनले दिएको छ ।

संक्रमित कामदारहरु फरार भएपछि स्थानीयबासी र राजनितिक दल,स्थानीय वडाका जनप्रतिनिधी लगायतले थप सँक्रमण फैलिन सक्ने भन्दै कारखानालाई सिल गर्न अनुरोधसमेत गरेका थिए। सोही अनुरोधलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले जगदम्बा स्टिललाई सिल गर्न र फरार भएका सँक्रमित कामदारहरुको वतन,सम्पर्क नम्बर लगाउन निर्देशन दिएको छ।

प्रशासनले निषेधाज्ञा अवधिभर भारतबाट सुख्खा बन्दरगाह, आईसीपी वा वीरगञ्ज भन्सार हुँदै ढुवानी भई आउने कच्चा सामाग्रीहरुको सवारी साधनलाई प्रवेश गर्न नदिने र उद्योगभित्र तयारी अवस्थामा रहेका सामाग्रीहरुको निकासी गर्नमा समेत रोक लगाएको छ ।

प्रशासनले नेपाल सरकार मन्त्री परिषद्को साउन २६ गतेको निर्णय अनुसार दक्ष/अर्धदक्ष/ श्रमिक कामदारको रुपमा कुनैपनि जनशक्ति ल्याउन नपाइने भएकोले कुनैपनि उद्योगमा भारतीय कामदारहरुलाई प्रवेश गर्न नदिइने, साउन १४ गते प्रकाशित सूचना अनुसार केही उद्योगभित्र कार्यरत श्रमिक, कामदार, कर्मचारीको विवरण प्राप्त नभएकोले तीन दिनभित्र पेश गर्न पनि प्रशासनले भनेको छ ।

त्यस्तै पथलैया–वीरगञ्ज करिडोरमा रहेका उद्योगहरुमा इलाका प्रशासन कार्यालय सिमराको प्रमुख वा निजले तोकेका अधिकृत कर्मचारीको नेतृत्वमा स्थानीय तह, प्रहरी, तथा सम्मबद्ध पक्षहरुको समितिले स्वास्थ्य सुरक्षा मापदण्डहरुको पालन गरे/नगरेको अनुगमन गरी पालना गर्न र स्वास्थ्य परीक्षण गर्न लागाउने र अभिलेख संकलन गर्न पनि प्रशासनले निर्देशन दिएको छ ।

उद्योगमा कार्यरत तीन हजारभन्दा बढी मजदुरमा ७५ प्रतिशत भारतीय नागरिक रहेका छन् ।

लकडाउन खुलेसँगै भारतबाट मजदुरहरु निर्वाध रुपमा काममा फर्किएको भन्दै पटक पटक स्थानीयले प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन् ।