१३ बैशाख २०८१, बिहीबार

अपहरण तथा शरीर बन्धक, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरु पक्राउ

handcuff

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं चन्द्रागिरि नगरपालिका-६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका-८ मातातीर्थ चोकबाट पक्राउ गरेको हो ।

निज अनिल उदास र काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भएका २८ वर्षीय अमृत कुमार बैद्यले २०७६ चैत्र २ गते राति चन्द्रागिरि नगरपालिका-१५ विष्णुदेवी घर भएका बा.२ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णु बहादुर श्रेष्ठलाई ढुंगा तथा इँटा प्रहार गरी सख्त घाइते बनाएका थिए । घटनामा संलग्न अमृत कुमार बैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने अनिल उदास उक्त घटना पश्चात फरार रहेका थिए ।

उदासलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त वृत्तले जनाएको छ ।

पर्सा

जिल्ला अदालत पर्साको २०६८ मंसिर १६ गतेको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र ५० हजार रुपैयाँ सजाय तोकिई फरार रहेका पटेर्वा सुगौली गाउँपालिका-४ बस्ने ३८ वर्षीय बन्हु सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

५० केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजाको चालु मुद्दामा समेत संलग्न रहेका सहनीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१६ ईनर्वाबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सुनसरी

सुनसरी, कर्तव्य ज्यान मुद्दाका फरार २ जना प्रतिवादीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी वक्लौरी-६ घर भएका ३२ वर्षीय तुलसी चौधरी र ३२ वर्षीय टाईसन भन्ने मिङमा दोर्जे शेर्पा रहेका छन् ।

२०६४ वैशाख २९ गते सुनसरी चाँदवेलास्थित मधेसा टोलमा साथीको विवाहमा जन्ती गएको अवस्थामा मिङमा र तुलसीले सामान्य झैंझगडा हुँदा छुरा प्रहार गर्दा गम्भीर घाइते भएका सुनसरी एकम्वा बस्ने सुरेन कुमार ठाकुरको बिपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।

जिल्ला अदालत सुनसरीको २०७१ साउन २९ गतेको फैसलाले उक्त घटनामा तुलसीलाई २१ वर्ष ६ महिना र मिङमालाई २० वर्ष कैद फैसला गरेको थियो।  उनीहरु दुबै जना कैद भुक्तान नगरी फरार रहेका थिए ।

लुकिछिपी बसेको अवस्थामा मिङमालाई रामधुनी नगरपालिका-६ बाट र तुलसीलाई धनुषा डल्केवरदेखि पिछा गरी सुनसरी इनरुवा नगरपालिका-४  बस बिसौनीबाट प्रहरीले प्रक्राउ गरेको हो ।
उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाइएकोजिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पाल्पा

पाल्पा, निस्दि गाउँपालिका-७ आधामारा बस्ने ४२ वर्षीय रिकमान डिसुवालाई कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरले रिकमानलाई साउन १० गते भलिबल खेल्ने क्रममा कुटपिट गर्दा घाइते भई स्थानीय स्वास्थ्य ईकाई क्षेत्रीखर्कमा उपचार पश्चात घर लगिएकोमा मंगलबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रुक्सेभञ्जाङ र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न किशोरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।