१६ चैत्र २०८०, शुक्रबार

सङ्कटमा छैनन् एम्बुलेन्स

ambulance

गत जेठ अन्तिम साता निसीखोला गाउँपालिकाका तीन कोरोना सङ्क्रमितलाई अस्पताल ल्याउन दुई दिन लाग्यो । असार पहिलो साता गलकोट नगरपालिका–११ का सङ्क्रमितलाई तीन दिनपछि आइसोलेसनमा ल्याइपु¥याइयो ।

दु्रत जाँच (आरडिटी) गर्दा पोजेटिभ रिपोर्ट आएपछि काठेखोला गाउँपालिकाकी महिलालाई रेडक्रसको एम्बुलेन्सले बोक्न मानेन । यी त प्रतिनिधि दृष्टान्तमात्र हुन् । यसले स्थानीय तहमा एम्बुलेन्स सेवा सहज नहुँदाको स्थिति झल्काउँछ । निसीखोला गाउँपालिकामा एम्बुलेन्स थिएन । अरू सवारी साधनले सङ्क्रमित बोक्न मानेनन् ।

अर्को दिन बडिगाड गाउँपालिकाबाट गएको एम्बुलेन्सले सङ्क्रमितलाई सदरमुकामस्थित धवलागिरि अस्पताल ल्यायोे । गलकोट–११ का सङ्क्रमितलाई पनि ताराखोला गाउँपालिकाबाट गएको एम्बुलेन्सले बोक्यो । तमानखोला गाउँपालिकामा सङ्क्रमित भेटिँदा पनि बडिगाडबाट गएको एम्बुलेन्सले सेवा दियो । कोरोना महामारीको विषम स्थितिमा समेत आफ्नै एम्बुलेन्स नहुँदा स्थानीय तहले ठूलो सास्ती खेप्दैछन् । “एम्बुलेन्सको साह्रै अभाव खड्कियो, दुःख–गाह्रो पनि प¥यो”, निसीखोलाका अध्यक्ष तारानाथ पौडेलले भन्नुभयो, “अब गाउँपालिका आफैँले एम्बुलेन्स सञ्चालन गर्ने गरी योजना बनाउँछौँ ।”

केही समय सञ्चालनमा ल्याइएको एम्बुलेन्स पनि बिग्रिएर थन्किएको र अहिले गाउँपालिकामा एम्बुलेन्स सेवा नै नरहेको उहाँको भनाइ छ । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले पनि यो वर्ष एम्बुलेन्स किन्ने बताउनुभयो । “गाउँपालिकाले पहिले नै किनिसक्थ्यो, केही संस्थाबाट सहयोगको आश्वासन आएपछि ढिलो भयो, अब आफैँ भए पनि किन्छौँ, अरूको बाटो हेर्दैनौँ”, उहाँले भन्नुभयो ।

निसीखोलाको केन्द्र सदरमुकाम बागलुङ बजारदेखि ११७ किमीको दूरीमा छ । तमानखोला अझ टाढा छ । ताराखोला गाउँपालिकाले आउँदो दशैँअगावै एम्बुलेन्स खरिद गरिने जनाएको छ । “एम्बुलेन्स खरिदका लागि सूचनासमेत प्रकाशित भइसकेको छ”, गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भन्नुभयो ।

गलकोट समाज जापानको आर्थिक सहयोगमा किन्न लागिएको एम्बुलेन्स गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन हुनेछ । गाउँपालिकाको सहयोग लिएर चलाएको एम्बुलेन्स गत महिनादेखि बिग्रेर थन्किएको छ । एम्बुलेन्स नहुँदा गाउँपालिकाले अहिले कोरोना सङ्क्रमितका लागि भाडाको पिकअप जीप प्रयोग गरिरहेको छ । काठेखोला गाउँपालिकाले पनि नेपाल रेडक्रस सोसाइटी बिहुँकोट शाखाको एम्बुलेन्स व्यवस्थापन गरेर सञ्चालन गरिरहेको छ ।

“रेडक्रससँग सम्झौता गरी एम्बुलेन्स चलाइएको छ, अहिले गाउँपालिकाको आफ्नै एम्बुलेन्स छैन, अब किन्ने योजना बन्ला”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विकले भन्नुभयो । सङ्कटका बेलामात्र नभएर सामान्य स्थितिमा समेत एम्बुलेन्स सेवालाई तयारी हालतमा राख्नुपर्ने उहाँको भनाइ छ ।

गलकोट–१ का अध्यक्ष वीरजङ्ग भण्डारीले प्राथमिक स्वास्थ्य केन्द्र र एउटा निजी अस्पतालको एम्बुलेन्स सञ्चालन गरे पनि नगरपालिकाको आफ्नै एम्बुलेन्स नरहेको बताउनुभयो । गलकोट प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पनि गलकोट सेवा समाजको आर्थिक सहयोगमा खरिद गरिएको थियो ।

कोरोना महामारी शुरु भएपछि सङ्क्रमित बोक्नुपर्दा एम्बुलेन्स चालकले नै भाग्ने, आनाकानी गर्नेसम्मका घटना जिल्लामा भए । स्थानीय तहसँग आफ्नै एम्बुलेन्स, आफ्नै चालक भएका भए त्यो स्थिति आउने थिएन । अहिले पनि स्थानीय तह अस्पताल, रेडक्रसलगायत सङ्घसंस्थाले चलाएका एम्बुलेन्सका भरमा छन् ।

कतिपयले सवारी साधन भाडामा लिएर सङ्क्रमित बोक्न प्रयोग गरेका छन् । आफ्नै स्वामित्व र स्वव्यवस्थापनमा एम्बुलेन्स सेवा दिन सकेका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत आवमै देशभरका स्थानीय तहमा अनिवार्य एम्बुलेन्स सेवाको प्रावधान ल्याए पनि यहाँ त्यसको कार्यान्वयन हुन सकेको छैन ।