१६ चैत्र २०८०, शुक्रबार

डब्ल्युएचओले भन्यो: कोरोना भाइरस बिरुद्धको भ्याक्सिन रुस आँफैले प्रमाणित गरे मान्यता हुँदैन

who

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरस बिरुद्धको भ्याक्सिन रुस आँफैले प्रमाणित गरे मान्यता नहुने बताएको छ । रुसले बिकास गरेको भ्याक्सिनबारे आफूहरुलाई केही जानकारी नभएको बताउदै (डब्ल्युएचओ)ले रुस एक्लैले प्रमाणित गरे आधिकारिकता नहुने बताएको हो ।

संगठनले रुसले भ्याक्सिन बनाउदै गरेको हल्ला सुनेकाे तर त्यसको मुल्यङ्कनका लागि आफूकहाँ कुनै जानकारी समेत नआएको बताएको छ ।

यसैबीच रुसको दाबीमाथि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पुरा जानकारी नदिकन कुनै पनि उत्पादन नगर्न रुसलाई आग्रह गरेको छ । डब्ल्यूएचओका रीजनल ब्राञ्च प्यान अमेरिकन हेल्थ अर्गनाइजेशनका असिस्टेन्ट डाइरेक्टरले दोश्रो चराण र तेश्रो चरणको ट्रायलको विवरण नआईकन उत्पादन शुरु नगर्न आग्रह गरेका हुन् ।

रोयटर्सका अनुसार जरबास बारबोसाले विश्व स्वास्थ्य संगठनलाई रुसी भ्याक्सीनको पुरा जानकारी नआएको भन्दै सारा जानकारी नदि भ्याक्सीन उत्पादन नगर्न आग्रह गरेका हुन् ।

विश्व स्वास्थ्य संगठनअन्तर्गत पेन–अमेरिकन हेल्थ अर्गनाइजेशनका सहायक निर्देशक जरबास बारबोसाले भनेका छन्- ‘रुसले भ्याक्सिन बनाउन सुरु गर्नेछ भन्ने सुनेको छु । तर जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म यस्तो गर्न हुँदैन। भ्याक्सिन बनाउने जो कोहीले पनि यो प्रक्रियाको पालना गर्नुपर्छ ।’

भ्याक्सिन सुरक्षित भएको र विश्व स्वास्थ्य संगठनले सिफारिश गरेपछि मात्रै कोरोनाबिरुद्ध भ्याक्सिनले आधिकारिकता पाउने डब्ल्युएचओको भनाइ छ । यसअघि पनि संगठनले रुसलाई कोरोनाविरुद्धको भ्याक्सिन बनाउनका लागि अन्तर्राष्ट्रिय दिशानिर्देशको पालना गर्न आग्रह गरेको थियो ।

रुसले कोरोनाभाइरसको खोप बनाएको दाबी गरिरहेको छ । मंगलबार नै रुसी राष्ट्रपति पुटिनले कोरोनाभाइरसविरुद्धको खोपलाई अनुमोदन गरेको बताइएको थियो । राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनबाट मस्को गामालेया इन्स्टिच्युटले बनाएको खोप सुरक्षित रहेको दाबी गर्नुभएको छ ।