१३ बैशाख २०८१, बिहीबार

छिमेकीको अतिक्रमणकारी नीतिले सीमा समस्याः गृहमन्त्री थापा

Rambahadur Thapa Badal
फाइल फोटो

गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताए।

छिमेकी देशको नाम नलिई उनले भने ‘सीमा विवाद आउनुमा हाम्रा छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तन पनि यसको कारण छ । पिलरहरु खनेर फपालिदिने, त्यसलाई नेपालभित्र ल्याएर गाडिदिने यस्ता अतिक्रमणकारी नीति सीमा समस्याका पछाडिका कारण देखिन्छ’।

सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने गृहमन्त्री थापाले बताए। यस्तै नेपालको भूभाग र सीमा रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले विशेष ध्यान दिने समेत उनले बताए।

नेपाल र भारतबीच सीमा निर्धारण गर्दा नदीलाई सीमा मान्ने सिद्धान्तलाई प्रचलनमा ल्याइएको भन्दै गृहमन्त्री थापाले नदीले धार परिवर्तन गर्दा पनि सीमा परिवर्तन भएको बताए ।

सोही आधारमा स्ट्रिप नक्सा बनाउँदा नेपालको भूभाग भारतमा र भारतको भूभाग नेपालमा परेको पनि उनले बताए। सीमा समस्या समाधानका लागि कुटनीतिक पहल आवस्यक रहेको बताए।

सीमा सुरक्षाका लागि गृह मन्त्रालयले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको थापाले बताए। उनले सीमा समस्या समाधानका लागि जनस्तरबाट समेत सहयोग हुनुपर्ने बताए।

सीमामा कडाई गर्न ‘रिजर्भ गण’

कोरोनाको महामारी नियन्त्रण गर्न सशस्त्र प्रहरीले ‘रिजर्भ गण’को अवधारण ल्याइएको छ। नेपाल–भारत सीमा खुकुलो भएपछि प्रदेश–२ मा कोरोना संक्रमण फैलिएको छ। हालसम्म प्रदेश २ मा कोरोना संक्रमणले ३१ जनाको मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ। ६ हजार ६८ जना  संक्रमित भएका छन्।
 
सीमा नाकाको सुरक्षालाई चुस्त बनाउन, हुलदंगा नियन्त्रण गर्न, विपद्‍मा राहत तथा उद्धार लगायतका कार्य प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल प्रधान कार्यालयले ‘रिर्जभ गण’को रणनीति अघि सारेको हो। प्रदेश–२ को दुई स्थानमा एसपीको नेतृत्वमा रिर्जभ गण कार्यान्वयनमा ल्याइएको हो।

सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिबास महोत्तरीको मातहत एउटा र अर्को बाराको पिलुवास्थित भद्रकाली गणमा सो गण स्थापना गरिएको छ।

बर्दिबासमा एसपी सुरेन्द्र बुढाथोकीले रिजर्भ गणको नेतृत्व सम्हालेका छन् भने बारामा एसपी मनोज थापा खटिएका छन्। दुवै गणमा ६२१–६२१ जना जनशक्ति छन्।

sima

रिजर्भ गणका जनशक्तिलाई हाल सीमा सुरक्षामा खटाइने सशस्त्र प्रहरी बल नेपाल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिबास महोत्तरीका डीआईजी कृष्णभक्त ब्रम्हचार्यले जनाए।  

लगातार पाँच महिनादेखि सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई मध्यनजर गरेर शसस्त्र प्रहरीले ‘रेष्ट एण्ड रिलिफ’को अवधारणा पनि कार्यान्वयनमा ल्याइएको उनले बताए।

ड्युटीमा खटिएका थकित सुरक्षाकर्मीलाई आराम गर्न समय दिने र सो ठाउँमा नयाँ प्रहरी जवानलाई सीमामा खटाउने रणनीति नै ‘रेष्ट एण्ड रिलिफ’ को अवधारणा हो।‘पहिले लक्षणबिनाको कोरोना संक्रमण थियो तर अहिले लक्षण देखिएको छ’, उनले भने,‘सीमाबाट अवैधानिक रुपमा हुने आउजाउमा कडाई गरेका छौं।’

भारतबाट आउनेको व्यवस्थापन सही ढङ्गबाट नहुँदा कोरोना फैलिएको उनको दावी छ।‘भारतबाट आउनेलाई हामीले स्थानीय तहको जिम्मा लगाएर पठायौं। क्वारेन्टाइनमा राख्छौं भनेर स्थानीय तहले सीमाबाट गाउँ लगे। तर, उहाँहरुलाई होमक्वारेन्टाइनमा राखियो। भारतबाट आउनेले होमक्वारेन्टाइनको महत्व नै बुझेनन्, जहाँ डाक्टरको उपस्थिति र निगरानी पनि भएन।’