
मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि कुटपिट भएको घटनाको थप विवरण खुलेको छ ।
केही दिनअघि सेक्युरिटी गार्डकै पोशाकमा रहेका एकजना व्यक्तिमाथि निर्घात कुटपिट गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडिओमा मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई निर्मम तरिकाले कुटपिट गरिएको थियो। ड्युटीमै रहेका बेला कुटपिट भएपछि ती सेक्युरिटी निरिह देखिन्छन्।
उक्त भिडियोमा एक व्यक्तिले सुरुमा हात र त्यसपछि लठ्ठीले हिर्काएका छन् । घटनाको प्रारम्भिक अध्ययनका क्रममा पीडित व्यक्ति नेपाली भएको थाहा भए पनि घटनाको अन्य विवरण खुलेको थिएन।
सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली राजदूतावासले उक्त घटनाबारे अनुसन्धान थालेको थियो।
दूतावासले घटनाको अध्ययन गरेपछि थप विवरण सार्वजनिक भएको छ । उक्त घटना गत जुलाई ७ तारिखमा बिहान १० बजे एमथ्री मलमा भएको र कुटपिट गर्ने व्यक्तिसमेत नेपाली भएको क्वालालाम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।
सोमबार विज्ञप्ति जारी गर्दै दूतावासले कुट्ने र कुटिने दुबै जना नेपाली नागरिक भएको जनाएको छ।
दूतावासका अनुसार पीडित व्यक्ति नवलपरासीका इस्लाम हुसेन हुन् भने कुटपिट गर्ने कपिलवस्तुका राम गोपाल मुराउ हुन् ।
उक्त घटना ७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा भएको हो। कुट्ने व्यक्ति सुपरभाइजरको रूपमा काम गर्ने कपिलवस्तुका रामगोपाल नुराउ हुन्। उनले सोही मलमा सेक्युरिटी गार्डको काम गर्ने इस्लाम हुसेनलाई कुटेका हुन्।

उनीहरु दुवैजना दूतावासको सम्पर्कमा आएका छन् । दूतावासको सम्पर्कमा आएका मुराउले हुसेनलाई कुटपिट गर्ने आफू नै भएको स्वीकारसमेत गरेका छन् ।
‘मलेसियाको अध्यागमन कानुनअनुसार पीडक र पीडित दुबै जना मलेसियामा अवैधानिक अवस्थामा रहेको देखिएको छ,’ दूतावासले भनेको छ।
दूतावासमा उपस्थित भएका पीडक मुराउ सोमबार नै आफैं मेलेसियन प्रहरीसमक्ष उपस्थित भएका छन्। घटनाको थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजु स्थित प्रहरीस्टेशनले गर्ने दूतावासले जनाएको छ ।
दूतावासका अनुसार पीडक नुराउ आफैं मलेसियन प्रहरी सक्षम उपस्थित भएका छन्। घटनाबारे थप अनुसन्धान र कारबाही मलेसियन प्रहरीले गर्ने दूतावासले जनाएको छ।
