१६ चैत्र २०८०, शुक्रबार

पशुपति क्षेत्र गुरुयोजना : स्थानीयद्वारा विरोध, पर्यटनमन्त्री भन्छन -“व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमण अस्वीकार्य”

pashupatinath

पर्यटन सँस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बर्द्धन गर्ने तर व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमाथि भइरहेको अतिक्रमणलाई भने स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।

सामाजिक सन्जाल ट्वीटरमार्फत् मन्त्री भट्टराईले यी धारणा सार्वजनिक गरेका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बद्र्धन गरिने छ । स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ । व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन । कुरा यही हो ।’

उनले सरकारले सबैसँग छलफल गरेर यसबारेमा सहमति बनाउने पनि बताएका छन् ।

कोषले १०० वर्षको गुरुयोजना बनाई पशुपतिदेखि सिफलसम्मको बस्ती खाली गराउनेसहितको योजना प्रस्ताव गरेको छ। तर उक्त गुरुयोजनाबाट पशुपतिमा बस्दै आएका रैथाने विस्थापित हुने र त्यहाँका मूर्त र अमूर्त सम्पदा विनाश हुने भन्दै विरोध भइरहेको छ।

स्थानीयले विश्वभरको हिन्दुहरुको पवित्र धार्मिक स्थललाई व्यवसायीकरण गर्न कोष उद्दत रहेको उनीहरुले आरोप लगाएका छन्। भट्टराईले भने सरकारले सबैसँग छलफल गरेर सहमति बनाउने भन्दै स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने बताएका छन्।

पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनामा पश्चिम ढोका भत्काउने, ब्रह्मनाल स्थानान्तरण गर्ने लगायतका विषय समेटिएको सार्वजनिक भएपछि सम्पदाविद जनप्रतिनिधिले विरोध गर्दै आएका छन् ।

पशुपति क्षेत्र रहेको प्रतिनिधिसभा क्षेत्र ४ का सांसद गगन थापाले मन्त्री भट्टराईलाई कोषले ल्याएको गुरुयोजनाप्रति स्थानीयको विरोधबारेमा अवगत गराएका थिए। मन्त्रीसँगको भेटमा थापाले सरकारले उक्त गुरुयोजना अघि बढाए संघर्ष गर्ने चेतावनी दिएका थिए।