१४ बैशाख २०८१, शुक्रबार

मलेसियामा नेपाली सुरक्षा गार्ड कुटिए, सम्पर्कमा आउन दुतावासको सुचना

nepali beaten malaysia

नेपाली सुरक्षा गार्डलाई कुटेको भिडियो सार्वजनिक भएपछि मलेसियन प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।

अनुसन्धानमा खटिएका वाङसा मजुका प्रहरी अधिकारी राजब अहमदले घटना जलन मदरसाको पार्किङ स्थलमा भएको बताएका छन्। राजब अहमदको भनाईलाई उदृत गर्दै स्थानीय पत्रिका ‘द स्टार’ले जनाए अनुसार एक पाकिस्तानी नागरिकले नेपाली सुरक्षा गार्डलाई लठ्ठीले पिटेको हो ।

‘हामीलाई विश्वास छ कि पिट्ने मान्छे पाकिस्तानी नागरिक हो भने कुटाइ खाने मान्छे त्यही भवनमा सुरक्षा गार्डको काम गर्ने नेपाली नागरिक हो’, राजब अहमदले भनेका छन ।

प्रहरीले घटनाको अनुसन्धान र घटनाको कारण पत्ता लगाउन लागिपरेको अहमदले भनेका छन ।

घटनाको बारेमा जानकारी भएकाहरुलाई प्रहरी अधिकारीहरु स्टेफन जोनसेनको फोन नम्बर ०१६३७६७३९० र सारुल अजुन सारोमको फोन नम्बर ०१६२०१४३३४ अर्थात क्वालालम्पुर प्रहरी हटलाइन नम्बर ०३२११५९९९९ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

४४ सेकेण्ड्को उक्त भिडियो शुक्रबार सामाजिक सञ्जालमा आएपछि मलेसियामा रहेको नेपाली दूतावासले अनुसन्धानको लागि त्यहाँको प्रहरीमा उजुरी गरेको थियो ।