८ बैशाख २०८१, शनिबार

आज पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीललाई देउवा–पौडेलले नेपाली काँग्रेसमा स्वागत गरे

sunil thapa and deuba

हालै राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापाले नेपाली कांग्रेसमा प्रवेश गर्दा आफूलाई अपार हर्ष र खुशी लागेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री तथा पञ्चायतकालका हस्ती सूर्यबहादुर थापाका छोरा तथा पूर्वमन्त्री सुनील थापा काँग्रेस प्रवेश गरेका हुन् ।

मंगलबार नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेपछि उनले नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टीमा प्रवेश गर्दाको क्षण अपार हर्ष र खुशी लागेको बताएका हुन् ।

उनीसहित राप्रपा परित्याग गरेका रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत र  ईन्द्रबहनदुर तामाङ पनि काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरु सबै राप्रपाका प्रभावशाली नेता भएकाे बताइएकाे छ ।

कोरोनाको महामारीका कारण सबै काठमाडौ आउन सम्भव नभएकाले आज १४ नेता काँग्रेसमा प्रवेश गरेका र अन्य जिल्लाबाटै प्रवेश गर्ने बताइएको छ । आज पार्टी प्रवेश गर्ने सबैलाई काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका छन् भने  उपसभापति बिमलेन्द्र निधिले पार्टीमा स्वागत गरे । 

यस्तै नवप्रवेशीलाई वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति निधिले लामो छलफलपछि थापा लगायतलाई पार्टी प्रवेश गराउन सफल भइएको बताए । आजको दिन ऐतिहासिक भएको समेत बताउँदै निधिले सूर्यबहादुर थापाको खुलेर प्रशंसा गरे ।

सूर्यबहादुर थापाको राजनीतिबारे पक्ष र विपक्षमा  वहस भए पनि नेपाली राजनीतिकमा उनको ठूलो योगदान रहेको निधिले बताए ।

सुनीलबहादुर थापाले मन्तव्यका क्रममा कांग्रेसका संस्थापक नेता वीपी कोइराला, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सूर्यप्रसाद उपाध्याय, महेन्द्रनारायण निधि, सुशील कोइराला र आफ्नै बाबु सूर्यबहादुर थापालाई सम्झिए ।

अहिले मुलुकमा प्रजातान्त्रिक शक्ति कमजोर भएको, लोकतान्त्रिक संस्था कमजोर रहेका बेला आफ्नो पनि जिम्मेवारी थपिएको भन्दै नेता थापाले नेपाली लोकतान्त्रिक पद्धतिमा थप उर्जा दिन कांग्रेसमा प्रवेश गरेको बताए ।

sunil bahadur thapa enters in nepali congress party 2077 1

आफ्ना बुबा सूर्यबहादुर थापाले लोकतानित्रक शक्तिबीच एकता हुनुपर्ने र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताएको भन्दै उनले राप्रपाले त्यो बाटो भुलेकाले कांग्रेस प्रवेश गरेको दावी गरे ।

थापाले ६७ वर्षअघि तोडेको नाता आफूले जोडेको बताएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाबाट काँग्रेसको सदस्यता ग्रहण तथा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधिलगायतले स्वागत गरेपछि बोल्दै थापाले सुरुमा आफ्नो बुबा सूर्यबहादुर थापाले पनि काँग्रेसको राजनीति गरेको बताए । 

२००८ सालमा सूर्यबहादुर मोरङ काँग्रेसको कोषाध्यक्ष रहेको तथा २०१० मा धनकुटा काँग्रेसको सभापति भएको उनले बताए । त्यसपछि भने काँग्रेससँग सम्बन्धबिच्छेद गरेर बुबा फरक बाटो लागेको उनले बताए । उनले काँग्रेससँग तोडएको नाता ६७ वर्षपछि फेरि जोड्न पाउँदा खुसी लागेको समेत बताए । 

उनले आफ्नो बुबाले लोकतान्त्रिक शक्तिको बृहद मोर्चाको कल्पना गरेको र त्यो काँग्रेसबाटै सम्भव भएको पनि बताए । उनले आफ्नो पूरानो पार्टी राप्रपा बुबाले खनेको बाटोबाट च्यूत हुँदै गएकाले आफू काँग्रेसभित्र घुलित हुने निर्णय गरेको पनि बताए । 

सो क्रममा उनले राप्रपाभित्र असन्तुष्ट धेरै नेता कार्यकर्ता भएको भन्दै उनीहरुलाई पनि क्रमशः काँग्रेसमा प्रवेश गराइने बताए । आज नै धेरै नेता कार्यकर्ताले काँग्रेस प्रवेश गर्ने चाहनामा राखेपनि कोरोनाको संत्रासका कारण सम्भव हुन नसकेको उनको दावी थियो । 

थापालगायतलाई स्वागत गर्दै देउवाले नवप्रवेशीको पार्टीमा उचित मूल्यांकन हुने बताए । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले राप्रपाले प्रतिगमनको बाटो रोजिरहेको बेला थापालगायत अग्रगमनको चाहनासहित काँग्रेसमा प्रवेश गरेकामा धन्यवाद दिए ।