१६ चैत्र २०८०, शुक्रबार

सेनाको कुटाईबाट मारिएका राजकुमार चेपाङको शव पोष्टमार्टमका लागि काठमाडौंमा

rajkumar Chepang

सेनाको कुटाईबाट मारिएका राजकुमार चेपाङको शव पोष्टमार्टमका लागि काठमाडौं पठाईएको छ ।

भरतपुर अस्पतालको शव गृहमा राखिएको उनको शव यहाँ पोस्टमार्टम हुन नसकेपछि काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आइतवार साँझ पठाइएको हो ।

चितवनमा पोस्टमार्टमका लागि दक्ष चिकित्सक नभएकाले काठमाडौं पठाईएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए ।

उनले आइतबार साँझ नै सबैको सहमतिमा शव काठमाडौं पठाईएको जानकारी दिए । ‘काठमाडमौंमा फरेन्सी दक्ष चिकित्सक भएकाले सबैको सहमति काठमाडौं पठाईएको हो’–मेसु डा.तिवारीले भने । साउन ७ गते राती उपचारको क्रममै भरतपुर अस्पतालमा मृत्यु भएका राप्ती नगरपालिका–२ का २४ वर्षीय चेपाङको शव पोष्टमार्टम हुन सकि रहेको थिएन ।

‘हामीकहाँ फरेन्सिक विशेषज्ञ नभएको र विवादित घटनासमेत भएकाले विज्ञलाई नै देखाउने भन्ने उद्देश्यले काठमाडौं पठाएका हौं,’ भरतपुर अस्पतालको पोस्टमार्टम गर्ने चिकित्सक डा. सुजन अधिकारीले भने, ‘पोस्टमार्टम नै विवादित हुँदा घटना गिजोलिने डर हुने भएकाले सहजगता अपनाएर शिक्षण अस्पताल पठाइएको हो ।’

चार जना चेपाङ अगुवासहित प्रहरीको टोली शव लिएर काठमाडौं पुगेको छ ।

साउन १ गतेका दिन चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि खटिएको सेनाले राजकुमारसहित पाँच जना युवालाई कुटपिट गरेको थियो । कुटाईबाट घाइते भएका राजकुमारको स्वास्थ्य अवस्था विस्तारै जटिल बन्दै गएपछि साउन ७ गते राती भरतपुर अस्पताल ल्याईएको थियो । उनको सोही अस्पतालमा राती नै मृत्यु भएको थियो ।

राजकुमारको शव आज (सोमबार) विहान ४ बजे त्रिवि शिक्षण अस्पतालमा पु¥याईएको नेपाल चेपाङ संघ चितवनका सचिव इन्द्रजित प्रजाले जानकारी दिए ।

उनले भने–‘शव विहान ४ बजे काठमाडौं पुगेको छ, आजै ११÷१२ को समयमा पोष्टमार्टम गर्ने तयारी छ ।’

आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि क्रिया खर्च र शव व्यवस्थापनका लागि एक लाख रुपैयाँ दिने सहमति भएको थियो ।

वार्तामा राजकुमार चेपाङको परिवार बस्दै आएको घर चितवन राष्ट्रिय निकुञ्जले बनाइदिने, उनकी डेढ वर्षीया छोरीका लागि मासिक एक हजार रुपैयाँ जम्मा गरिदिने र मृतककी श्रीमतीलाई क्षमताअनुसारको रोजगारी दिने सहमति भएको परिवारजनको भनाइ छ ।

शवको पोष्टमार्टम रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढाईने चेपाङ संघका सचिव सचिव इन्द्रजितले बताए । उनले भने–‘प्रक्रिया अघि बढाउनका लागि पोष्टमार्टमका लागि सहमति भएको हो, बाँकी रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढ्छ, अन्य विषयमा सहमति भएको छैन’–सचिव प्रजाले भने ।

गत साउन १ गते राप्ती नदी आसपास क्षेत्रमा घोँगी टिप्न गएका राजकुमारलाई चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले नियन्त्रणमा लिएर कुटपिट गरी छाडेको र त्यसको केही दिनमै मृत्यु भएको दाबी परिवारले गर्दै आएका छन् । चितवनको राप्ती नगरपालिका–२ का घर भएका राजकुमारको साउन ८ गते उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो ।

राजकुमारका बाबु विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गर्दै लास नबुझ्ने अडान लिँदै आएका छन् । सेनाले कुटेर घर आएपछि राजकुमार बिरामी भएको र मृत्युका कारण सेनाको कुटाइ नै भएको बाबु विष्णुलालको भनाइ छ ।

सेनाले भने कुटपिटबाट मृत्यु भएको भन्ने परिवारको दाबीलाई इन्कार गर्दै आएको छ ।