७ बैशाख २०८१, शुक्रबार

पहिरोमा स्काभेटर पुरियो, दुई चालक वेपत्ता

Baglung Pahiro

बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको छ।

गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्र्याक्टर चालक रोशन नेपाली वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।

स्काभेटर चालक भने सम्पर्कमा आएको उहाँको भनाइ छ।

ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध१च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो। स्काभेटरको नम्बर खुलेको छैन।

‘पहिले पनि पहिरा खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरा खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने।

pahiro 3

पहिरा गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो।

निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुनसकेको थिएन।

सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए।

अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरामै पुरिएको आशङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए।

पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ। रासस

बेपत्ता दुईमध्ये एकजनाको शव फेला

सुक्खा पहिरोमा परी बेपत्ता दुईजनामध्ये एकजनाको शव फेला परेको छ। शनिबार राति ९ बजे गएको पहिरोमा एक ट्रयाक्टर र एक डोजरसँगै चालकहरु पुरिएका थिए।

तीमध्ये ट्रयाक्टर चालक २५ वर्षीय रोशन भनिने धनबहादुर किसानको शव फेला परेको हो। उनी बाग्लुङ–५ मालिका हुन्। उनीसँगै बेपत्ता भएका अर्का एकजना टिपर चालकको खोजी भैरहेको प्रहरी निरीक्षक दीपक रेग्मीले जानकारी दिए।

पहिरोमा पुरिएकाहरुको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खटिएका थिए। निरन्तर पहिरो खसेकाले जोखिम भएपछि राति उद्धार रोकिएको थियो।

baglung pahiro