७ बैशाख २०८१, शुक्रबार

बाढी-पहिरोमा ज्यान गुमाउनेका परिवारलाई २ लाख दिने निर्णय

Ministry of Home Affairs

सरकारले प्राकृतिक विपदमा ज्यान गुमाउनेको परिवारलाई दुई लाख रूपैयाँ नगद सहयोग गर्ने भएको छ। बाढी–पहिरो जस्ता विपदमा परेर ज्यान गुमाउनेका परिवारलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले २ लाख दिने निर्णय सरकारले गरेको छ ।

बुधबार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेको हो। साउन ५ मा बसेको मन्त्रिपरिषद्को बैठकले ‘राहत सम्बन्धी मापदण्ड ०६४’लाई संशोधन गरी ‘विपद् पीडित उद्धार र राहत मापदण्ड ०७७’ स्वीकृत गर्दै सो अधिकार दिएको हो ।

कसले कति पाउने ?

  • १ जनाको मृत्यु भएमा २ लाख
  • सोही परिवारमा अन्य व्यक्तिको मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाखको
  • एकघर परिवारका सबै सदस्यको मृत्यु भएमा राहत उपलब्ध नगराइने

मन्त्रालयले घर, बहाल, आवास, खाद्यान्न बाली तथा जग्गा जमीन वा पसल व्यवसायमा समेत नोक्सानी भएमा तत्कालका लागि पाँच जनाको परिवार भएमा १५ हजार र सो भन्दा बढी भएमा २० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

विपदका घटनामा परी खाद्यान्न तथा हाल बसोबास गरिरहेको घर पूर्ण रुपमा नष्ट भएमा वा क्षतिपछि नयाँ घर निर्माण गर्नुपर्ने र अर्को स्थानमा बसोबार गर्ने घर नभएको अवस्था भएमा प्रतिपरिवार १ लाखसम्म उपलव्ध गराइने भएको छ।

प्रमुख जिल्ला अधिकारीहरुले विपद्को बेला पीडितहरुको खोज तथा उद्धारका लागी न्यूनतम २५ जना जनशक्ति जुनसुकै बेला परिचालन गर्ने गरी राख्ने निर्णय गरिएको छ । विपद् व्यवस्थापन समितिको मातहतमा खोज तथा उद्धार सामाग्रीको भण्डारण गर्नुका साथै न्युनतम २५ जना उद्धार कार्ययमा प्रयोग गर्ने जनशक्ति व्यवस्थापन गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

राहत वितरण गर्दा सुत्केरी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामी र अपांगता भएकालाई प्राथमिकता दिई वितरण गर्ने पनि गृहमन्त्रालयले जनाएको छ।

‘स्ट्याण्डबाई राख्ने जनशक्ति नेपाल प्रहरी र शसस्त्रका हुन्छन्’ गृहप्रवक्ता शमाले भने– ‘मध्यरातमा पनि परिचालन हुनुपर्ने भएकाले सुरक्षाकर्मीलाई नै परिचालन गर्नेगरी राहत सम्बन्धी मापदण्ड स्वीकृत भएको छ ।’

मनसुनको अवधिमा घरबार विहिन भएका परिवारका लागी ०७२ सालको भूकम्प पीडितलाई गरिएको विधि र प्रक्रियाबाट शहरी विकास मन्त्रालयले आवास निर्माण गर्ने निर्णय भएको छ ।

विपद् उद्धारको बेला सक्रियतापुर्वक काम गर्ने समाजसेवी, राजनैतिक व्यक्तित्व, व्यवसायी र कर्मचारीको नाम जिल्ला प्रशासनले सम्मान र पुरस्कारको लागी प्रजिअले गृह मन्त्रालयमा सिफारिस गर्न सक्नेछन् ।

कति ज्यान गयो ?

गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बैशाख एक गतेदेखि साउन ६ गते बिहानसम्म पहिरोले एक सय २३ जनाको ज्यान लिएको छ। बाढीले ६ जनाको मृत्यु भएको छ भने चट्याङ लागेर ४७ जनाको मृत्यु भएको छ।