१५ चैत्र २०८०, बिहीबार

भदौ १ गतेदेखि हवाइ उडान खोल्ने सरकारको निर्णय

Cabinet 3

पाँच महिनादेखि बन्द रहेको आन्तरिक तथा बाहृय उडान भदौ १ गतेबाट सुरु हुने भएको छ । सरकारले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने ११ गतेबाट आन्तरिक रोकिएको थियो ।

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ । अब भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय भएको भट्टराईले बताए ।

उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ।

जेठ २६ बाट सरकारले लकडाउन केही खुकुलो गरिएको भए पनि हवाई सेवा सुचारू भएको थिएन । पछिल्लो समय विदेशबाट नेपाल फर्किने नागरिकहरूका लागि चार्टर फ्लाइटहरू भने भइरहेको छ ।

अब अन्तराष्ट्रिय अभ्यास र विदेशमा भएका नेपालीहरूलाई आउन दिन पनि हवाई सेवा सुचारू गर्ने निर्णय भएको मन्त्री भट्टराईले बताए  त्यसका लागि हवाई उडानसम्बन्धी प्रोटेकल मन्त्रालयले बनाउनेछ ।

स्रोतका अनुसार हवाई उडान सुरु गर्नुअघि होटल व्यवसाय पनि सञ्चालन गर्न दिने सरकारको तयारी छ । एक मन्त्रीले भनेका छन्, ‘साउन १५ गतेबाट होटलहरु पनि खुला गर्ने कुराकानी भएको छ ।’