६ बैशाख २०८१, बिहीबार

ओलीसँग मैले कुनै सहमति गरेको छैन: प्रचण्ड

oli prachanda

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी ओलीसँग आफ्नो कुनै गोप्य सहमति नभएको प्रष्ट पारेका छन्।

हिजोको सचिवालयको बैठकपछि ओली र प्रचण्डबीच सहमति भएको खबर बाहिरिएपछि प्रचण्डको स्वकीय सचिव समेत रहेकी उनकी छोरी गंगा दाहालले खण्डन गरेकी थिइन्।

फेसबुकमा उनले लेखेकी थिइन् आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न बिषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनै पनि बिषयमा सहमति भएको छैन र सम्पूर्ण बिषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं।

आज अध्यक्ष द्वय बिच भएको छलफल पछि बसेको पार्टी सचिवालय को बैठकमा सहमति खोज्ने क्रममा विभिन्न बिषयहरु (महाधिवेशन लगायतका)…

Posted by Ganga Dahal on Saturday, July 18, 2020

आइतबार बिहान आफ्नै निवास खुमलटारमा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत केही स्थायी कमिटी सदस्यसँगको छलफलमा उनले ओलीसँग सहमति नभएको प्रष्ट पारेका हुन्।

प्रचण्डले मंसिरमा महाधिवेशन हुने कुरामा पनि आफूलाई विश्वास नभएको बताएका थिए। दुई पार्टीबीच एकताका सम्पूर्ण काम नै नसकिएको बेलामा मंसिरमै महाधिवेशन हुन्छ भन्ने कुरामा पनि मलाई विश्वास छैन, उनले भनेका थिए।

‘केही सहमति भएको छैन। मलाई कमजोर बनाउने कुरा हो। मैले असहमति जाहेर गरेकै हो। गलत ढंगले बाहिर ल्याइएको हो,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘एकीकरण प्रक्रिया सकिएको छैन। सदस्यताको टुंगो लाग्न पर्‍यो। विचारको बहस हुनुपर्‍यो। यतिकै भन्दिएकै आधारमा महाधिवेशन हुन सक्दैन।’

शनिबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीप्रति प्रचण्ड नरम रुपमा प्रस्तुत भएका थिए। साथै, मंसिरमै महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका थिए। तर, खनाल, नेपाल, गौतम र श्रेष्ठले भने शंका व्यक्त गरेका थिए। नेता नेपालले भने दुई अध्यक्षबीच चोचोमोचो मिल्दैमा नहुने भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

आजको लागि तोकिएको स्थायी कमिटी बैठक भने बस्ने सचिवालयको बैठकले निर्णय गरेको थियो तर आज बस्ने भनिएको नेकपा स्थायी समिति बैठक मंगलबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ।