
काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ ।
कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । साथै, कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएकाले अब ठूलो वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।
ठूलो पानी पार्ने प्रणाली अहिले कोशी प्रदेशमा केन्द्रित रहेको र दिउँसोपछि विस्तारै मत्थर हुँदै जाने उनको भनाइ छ ।
ठूलो पानी पर्ने सम्भावना नभए पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको मौसमविद् अर्यालले जानकारी दिए । बितेको २४ घण्टामा कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा ठूलो पानी परेको छ ।