१२ आश्विन २०८२, आईतवार

नेपाल र वेस्ट इन्डिजबीचको पहिलो खेल आज

thumb

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक वेष्टइण्डिजसँग टी-२० आई खेल खेल्दैछ । तीन खेलको सिरिज अन्तर्गत पहिलो खेल आज साँझ ८ : ४५ मा शारजाह क्रिकेट रंगशालामा हुनेछ । अर्को सातादेखि ओमानमा हुने आईसीसी टी ट्वान्टी एसिया कप क्षेत्रिय छनोट अघि तयारीको रुपमा नेपालले वेष्टइण्डिजसँग टी-२० आई खेलको सिरिज खेलेको हो ।

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक टेस्ट टोलीसँग सिरिज खेल्दैछ । नेपालको टोलीमा प्लेइङ ११ मा पर्न टोलीभित्र उच्च प्रतिस्पर्धा हुँदा कप्तान, प्रशिक्षक र टिम म्यानेजमेन्टलाई सहज हुनेछैन । तर मैदानको अवस्था, विपक्षी टोलीको कमजोरी र विश्वकप छनोटलाई ध्यानमा राख्दै नेपालले आफ्नो प्लेइङ ११ मैदान उतार्ने देखिन्छ । ब्याटिङमा गहिराई र बलिङमा धेरै विकल्पका साथ मैदान उत्र्रिने देखिन्छ ।

नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिने देखिन्छ । सन् २०२१ देखि आसिफ र कुशल भुर्तेलले नेपालको टोलीमा ओपनिङ गर्दै सफल बनेका छन् । पछिल्लो समय नेपालले ओपनिङ जोडीमा अन्य खेलाडीलाई परिवर्तन गरेर हेरेको थियो । तर ती परिक्षण सफल नभएपछि आसिफ र भुर्तेलले निरन्तरता पाउनेछन् । आसिफको भूमिका इनिङ ठूलो र कुशलको आक्रामक हुनेछ ।

तर दुबै ओपनरले पछिल्लो समय अपेक्षा अनुसार खेल्न सकेका छैनन् । त्यसैले दुबै ओपनरलाई ठूलो इनिङको दबाब हुनेछ । तेस्रो नम्बरमा कप्तान रोहित पौडेलको सम्भावना छ । चौथो नम्बरमा नेपालले कुशल मल्ललाई मैदान पठाउन सक्छ । यदि ओपनिङ सुरुवात राम्रो भएमा कुशल तेस्रो नम्बरमा पनि आउन सक्छन् । वेष्टइण्डिजका कप्तान अकिल हुसेनले पावर प्लेमा बलिङ गर्ने हुँदा कुशल तेस्रो नम्बरमा आउन सक्छन् । रोहित र कुशल मल्ल तेस्रो र चौथो नम्बरमा खेल्नेछन् ।

पाँचौं नम्बरमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । टेस्ट टोलीविरुद्ध कमजोर प्रदर्शन गर्दै आएका दीपेन्द्रबाट नेपालले उत्कृष्ट ब्याटिङ चाहन्छ । सिनियर टोलीमा तीन वर्षपछि फर्किएका आदिल अन्सारी छैटौं नम्बरमा खेल्ने सम्भावना छ । आदिल क्लिनहिटर हुँदा नेपाल अन्त्य राम्रो चाहन्छ । विश्वकप छनोट अघि नेपालले आदिलको क्षमता पनि हेर्न चाहने हुँदा वेष्टइण्डिजविरुद्ध मौका दिने बलियो सम्भावना छ ।

नेपालले प्रमुख तीन तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र गुल्शन झालाई मैदान उतार्ने सम्भावना छ । डेथ ओभर स्पेलिष्ट नन्दन यादवलाई पहिलो खेलमा नेपालले विश्राम दिने सम्भावना देखिन्छ । त्यसैले गुल्शन सातौं, करण आठौं र सोमपाल नवौं नम्बरमा ब्याटिङ गर्न आउनेछन् । नेपालको ब्याटिङ नौं नम्बरसम्म हुनेछ । यी तीन तीव्र गतिका बलरको भूमिका अन्त्यमा आक्रामक ब्याटिङ हुनेछ । यदि टोलीले खराब ब्याटिङ गरे सोमपाल माथी आएर खेल्न सक्छन् ।

बलिङमा सोमपाल र करणले पावर प्लेमा बलिङ गर्नेछन् । गुल्शनले मध्यक्रममा साथ दिनसक्छन् । तर नेपाल स्पिन आक्रामणलाई बढी ध्यान दिनेछ । वेष्टइण्डिजका ब्याटर स्पिन खेल्न लगातार संघर्ष गरेको हुँदा नेपालले दुई प्रमुख स्पिनर सन्दीप लामिछाने र ललित नारायण राजवंशीलाई मैदान उतार्ने देखिन्छ । पार्टटाईममा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र रोहित पौडेल हुनेछन् । दीपेन्द्र र कुशल मल्ल पहिलो रोजाईका पार्टटाईम स्पिनर हुन् ।

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी ।

    सम्बन्धित समाचार...