३ आश्विन २०८२, शुक्रबार

प्रधानमन्त्री सुशीला कार्कीले टुँडिखेलबाट सम्वोधन गर्ने, दलहरुले छुट्टाछुटै संविधान दिवस मनाउँदै

sambidhan

काठमाडौं । २०६२/६३ सालको आन्दोलनको बलमा संविधानसभाले संविधान जारी गरेको १० वर्ष पूरा भएको छ । दुई पटक संविधानसभाको निर्वाचनपछि २०७२ असोज ३ गते संविधान जारी भएको थियो । सोही दिनको सम्झना र सम्मानमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइदैछ ।

विगतका वर्षहरुमा झैँ यस वर्षपनि संविधान दिवस तथा राष्ट्रिय दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना हुँदैछ छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नु हुनेछ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन गरिएका छन् ।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धि स्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो ।

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गर्नुभएको थियो । तर संविधान बनाउने राजनीतिक दल र नेताहरुले नै संविधानको अक्षरशः पालना नगर्दा आलोचना हुँदै आएको छ । संविधान जारी भएको १० वर्षसम्म पनि आवश्यक कानुन बन्न सकेनन् भने संविधानमाथि पटक-पटक प्रहारका प्रयासहरु भएका छन् ।

जेन जी आन्दोलनपछि बदलिदो परिस्थितिमा प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै संविधान दिवस मनाउँदैछन् ।

    सम्बन्धित समाचार...