१ आश्विन २०८२, बुधबार

चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने

new buspark

काठमाडौं । यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी बनाउनका लागि सबै तयारी भएको जनाएको छ ।

मंगलबार बिभागमा यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको छलफलमा विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सुरक्षित यात्रा गराउनका लागि बिभागका तर्फबाट सबै तयारी भएको बताए ।

उनले यात्रुलाई सुरक्षित साथ गन्तव्यतर्फ पुर्‍याउनका लागि सबैै निकायबीच सहकार्य जरुरी रहेको उल्लेख गर्दै सडक अवरुद्ध हुन नदिन ठाँउ ठाँउमा सडक बिभागसँगको सहकार्यमा डोजर लगायतको व्यवस्था गरिने जानकारी दिए । पोखरेलले भाडा दरलाई पारदर्शी बनाउन यात्रु सहायता कक्ष लगायत बिभिन्न स्थानमा भाडा दरको बोर्ड राखिने बताए ।

छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यसअघिको वर्षमा घटस्थापनादेखि फुलपातीसम्म अत्याधिक चाप देखिए पनि यस वर्ष अहिलेदेखि नै यात्रुको चाप बढेको बताए । सिटौलाले यात्रुहरुलाई सेवा दिन यातायात व्यवसायीहरु तयार रहेको भन्दै सरकारका निकायहरु पनि सेवाका लागि तयार रहनुपर्ने स्पष्ट पारे ।

छलफलमा यातायात व्यवसायीहरुले अहिलेको विषम परिस्थीतिमा भाडादर बृद्धि नहुने र सेवामा ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता जनाए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अग्रिम टिकट खुला गर्ने भन्दा पनि सवारी साधनको उपलव्धताका आधारमा टिकट काटिने जानकारी दिए ।

    सम्बन्धित समाचार...