३१ भाद्र २०८२, मंगलवार

प्रचण्ड आजबाट सक्रिय, देउवा दम्पत्ति उपचारमा, ओली कहिले सार्वजनिक होलान ?

oli prachanda deuba kp sher prachanda

काठमाडौं । हालै भएको जेन–जी आन्दोलनले मुलुकमा ठूलो राजनीतिक परिवर्तन ल्याएको छ। आन्दोलनपश्चात् पुराना दलको सत्ता समाप्त हुँदै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गैरदलीय सरकार गठन भएको छ।

नवगठित सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने म्याण्डेट दिइएको छ। मन्त्रीहरूले पनि आफ्नो प्रमुख जिम्मेवारी चुनाव नै भएको भन्दै प्रतिबद्धता जनाएका छन्।

जेन–जी आन्दोलन भदौ २३ र २४ गते तीव्र बनेपछि पुराना दलका नेतृत्वलाई सत्ता र राजनीति दुवैबाट विस्थापित गर्नुपर्ने माग उच्च स्तरमा उठेको थियो। आन्दोलनका क्रममा प्रमुख दलका शीर्ष नेताहरू नेपाली सेनाको कडा सुरक्षा घेरामा रहँदै ज्यान जोगाउन बाध्य भएका थिए।

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि सेनाको सुरक्षा घेराभित्र बस्दै आएका छन्। उनी हाल शिवपुरीस्थित सेनाको उच्च सुरक्षा कवचमा रहेको जनाइएको छ। ओली पार्टीका दोस्रो तहका नेताहरूसँग निरन्तर सम्पर्कमा रहेको तर सार्वजनिक कहिले हुने भन्नेबारे अहिलेसम्म स्पष्ट गरिएको छैन।

त्यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा आन्दोलनकारीको कुटपिटबाट गम्भीर घाइते भएका छन्। उनीहरूलाई नेपाली सेनाले उद्धार गरी उपचार गराइरहेको छ। चिकित्सकहरूले कम्तीमा एक सातासम्म थप उपचार आवश्यक पर्ने बताएका छन्। यसबीचमा कांग्रेस नेताहरू निरन्तर सभापति दम्पत्तिको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन्।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने आजदेखि सार्वजनिक गतिविधिमा फर्किएका छन्। उनी पार्टी मुख्यालय पेरिसडाँडा पुगेर आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको प्रत्यक्ष अवलोकन गरेका छन्।

देशको राजनीति नयाँ मोडमा प्रवेश गरेको यस अवस्थामा आगामी चुनावसम्म सरकारलाई स्थिर राख्ने चुनौती प्रमुख बन्ने देखिएको छ।

    सम्बन्धित समाचार...