
काठमाडौं । पूर्व सांसद डा. अमरेशकुमार सिंहले देश आज अभूतपूर्व संकटको घेरामा रहेको टिप्पणी गरेका छन् । न्यायलाई लक्ष्य बनाएर, युवाको बलिदानलाई प्रेरणा बनाए अब खरानीबाटै नयाँ नेपालको निर्माण गरिने उनको उद्घोछ । उनले भनेका छन्, ‘यही हाम्रो कसम हो। यही हाम्रो बाटो हो। अन्तमा नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की ज्युलाइ बधाई तथा सफल कार्यकालको शुभकामना।’
सिंहले फेशबुकमार्फत अब मुलुकमा नयाँ सुरुवातको संकेत देखिएको विश्वास व्यक्त गरेका छन् । उनले थप भनेका छन्,‘जेन–जि पुस्ताले आफ्नो रगतले मुलुकलाई नयाँ दिशा दिन खोजेका छन्। उनीहरूको माग केवल सत्ता परिवर्तन होइन, यो माग हो—न्यायको, समानताको, भविष्यको। यो बलिदान व्यर्थ जान दिनु हुँदैन।’
उनले लेखेका छन्– देश आज अभूतपूर्व संकटको घेरामा छ। परिवर्तनका लागि सडकमा उत्रिएका जेन–जि पुस्ताका सयौं सपनाहरू रगतमा रन्थाम भए। धेरै युवाले जीवन आहुति दिए, हजारौं अस्पतालमा छटपटाइरहेका छन्। न्याय, समानता र भविष्यको खोजीमा निस्किएका उनीहरूको आवाजले मुलुकलाई नयाँ दिशातर्फ धकेल्दैछ।
यसबीच देशका संरचना भत्किए, सयौं कार्यालय र गाडी खरानी बने। खर्बौं मूल्य बराबरको सम्पत्ति नष्ट भयो, प्रहरी चौकी जले, जेलका ढोका भत्किएर अपराधी भागे। देशको अदालत जलाइयो , अपराधीहरु को प्रमाण जले , प्रधानमन्त्रीले राजीनामा दिए तर देश अझै अन्यौलतामा छ। तीन दिन भयो, निद्रा हराएको छ। आँखा बन्द गर्न खोज्दा पनि आगोले ढाकिएका सडक, धुवाँको मुस्लो, चिच्याइरहेका आवाज र बलिदान गर्ने युवाहरूको अनुहार मनभरि घुम्छ।
तर यो केवल विनाशको कथा होइन। यो नयाँ सुरुवातको संकेत हो। जेन–जि पुस्ताले आफ्नो रगतले मुलुकलाई नयाँ दिशा दिन खोजेका छन्। उनीहरूको माग केवल सत्ता परिवर्तन होइन, यो माग हो—न्यायको, समानताको, भविष्यको। यो बलिदान व्यर्थ जान दिनु हुँदैन।
तर यसैबीच केही गलत मनसाय बोकेका शक्ति सक्रिय छन्। तर हामी स्पष्ट छौं
म सुरु देखि नै भन्दै आएको थिएँ—देश दुर्घटनामा फस्नेछ। र आज त्यो सत्य हाम्रा आँखा अगाडि छ। तर अब निराश भएर बस्ने होइन। इतिहासले सिकाउँछ—विनाशपछि पुनर्निर्माण सम्भव हुन्छ। आज खरानीमाथिबाट नयाँ नेपालको बीउ उम्रन सक्छ।
अब युवाहरूले नै देश उठाउनु पर्छ। आफ्नो पसिना, ज्ञान र सिर्जनशीलताबाट यो मुलुकलाई फेरि निर्माण गर्नुपर्छ। हाम्रो आँसु, हाम्रो पीडा, हाम्रो बलिदानले नयाँ सूर्यलाई जन्म दिनुपर्छ।
यो केवल जेन–जि पुस्ताको आन्दोलन होइन, यो सम्पूर्ण नेपालीको साझा लडाइँ हो। हरेक आमाबाबुले आफ्ना सन्तानको बलिदानलाई व्यर्थ हुन दिनु हुँदैन। हरेक नेताले बुझ्नुपर्छ, अब जनता झुक्दैनन्।
न्यायलाई लक्ष्य बनाएर, युवाको बलिदानलाई प्रेरणा बनाएर—अब खरानीबाटै नयाँ नेपालको निर्माण गरिन्छ। यही हाम्रो कसम हो। यही हाम्रो बाटो हो। अन्तमा नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की ज्युलाइ बधाई तथा सफल कार्यकालको शुभकामना