
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् ।
केहीबेर अघि नवनियुक्त प्रधानमन्त्री कार्कीले सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । यसअघि उनले लैनचौर पुगेर सहिदहरुलाई श्रद्धाञ्जली प्रकट गरेकी थिईन् । कार्की शुक्रबार साँझदेखि नै बालुबटारस्थित प्रधानमन्त्री निवासमा बस्न थालेकी छिन ।
पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगलगाी हुँदा बचेका सामान प्रधानमन्त्रीको नयाँ कार्यालयमा लगेर प्रयोग गरिएको छ । कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । शुक्रबार राति प्रधानमन्त्रीको शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
राजनीतिक दलभन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी छ । मन्त्रीको लागि कुलमान घिसिङ र ओमप्रकाश अर्यालको नाम चर्चामा छ । त्यसपछि शुक्रबार राति राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
शुक्रबार नै कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गरेकी थिइन् । शपथपछि कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए । आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने शर्तमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको हो ।
तर, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलले संसद् विघटनप्रति असन्तुष्टि जनाएका छन् । संविधानभित्रैको प्रक्रियाबाट कार्कीलाई प्रधानमन्त्री बनाउन सकिने र संसद् कायम नै राख्न सकिने अवस्था रहेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।