
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार पनि विघटन हुनुपर्ने धारणा राखेका छन् । साहले अहिलेकै संविधान, व्यवस्था र प्रणालीलाई स्वीकार गरेर केवल सरकार बदल्ने सम्झौता जेनजी आन्दोलनसँग धोखा भएको टिप्पणी गरेका छन् ।
सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले जनविद्रोहमार्फत कांग्रेस-एमालेको अलोकतान्त्रिक, अवैधानिक गठबन्धनको अपवित्र सरकार, संसद् र संविधानलाई अस्वीकार गरिसकेको सन्दर्भमा फेरि उही संसद् र संविधानमा टेकेर अगाडि बढ्ने कुरा गर्नु जनादेशको अपमान हुने उनले बताए ।
‘वर्तमान सरकारको गठन र संसद्को विघटनलाई अलोकतान्त्रिक एवं असंवैधानिक भन्नेहरूसँग मेरो प्रश्न छ, २०४६ सालको अन्तरिम सरकार र संविधान, २०६३ सालको अन्तरिम सरकार र संविधान कुन संविधान अनुसार भएको थियो तथा ०७० सालमा खिलराज प्रधानमन्त्री कुन विधि विधान अन्तर्गत भएको थियो ?’ साहले प्रश्न गरे ।
नेपाली जनताले अहिलेको संविधान र गठबन्धनको अपवित्र सरकार दुवै अस्वीकार गरिसकेकाले संविधानको रटान लगाउनुको कुनै औचित्य नभएको बताउँदै उनले राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय सरकार समेत विघटन गरेर नयाँ संविधान निर्माणको दिशामा अगाडी बढ्नुको विकल्प नभएको बताए ।