२८ भाद्र २०८२, शनिबार

प्रतिनिधि सभा विघटनको विपक्षमा उभिए आठ पार्टी

house

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित ८ राजनीतिक दलहरुले संसद् विघटनाप्रति गम्भीर असहमति जनाएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरी अलोकतान्त्रिक र असंवैधानिक ढङ्गले सरकार गठन र प्रतिनिधिसभा विघटन गरिएको बताएका हुन् ।

‘वर्तमान प्रतिनिधिसभा विघटन गरिएको भनि राष्ट्रपति कार्यालयबाट जारी भएको बिज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण र असहमति रहेको छ। नेपालको संविधान तथा प्रचलित कानून वमोजिम सुसाशनको माग राखेर भएको आन्दोलनको मर्म बिपरित अलोकतान्त्रिक तथा असंवैधानिक ढङ्गले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभाको विघटन गरिएको छ,’– संयुक्त विज्ञप्तिमा भनिएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विपरीतका कदमलाई कुनै पनि मूल्यमा स्वीकार गर्न नसकिने आठ दलले बताएको छ । जननिर्वाचित संस्था प्रतिनिधि सभालाई बिघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजीर तथा सिद्धान्तहरु एवं नेपालको संवैधानिक परम्परा विपरीत रहेको उनीहरुको ठहर छ ।

यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको भन्दै उनीहरुले प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन माग गरेको छ । तत्काल संसद् बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न उनीहरुले माग गरेका छन् ।

image 4

    सम्बन्धित समाचार...