
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सक्रिय राजनीतिबाट सन्यास लिन सुझाव दिएका छन् । आज (शनिबार) भिडिओ सन्देश जारी गर्दै महामन्त्री शर्माले यो कुरा आफूले विगतदेखि नै भन्दै आएको बताए । उनले आफूले पार्टी सभापति देउवालाई ‘अब तपाईँले त्याग गर्न बाँकी छ’ भनेर पटक–पटक सम्झाएको पनि उनले स्मरण गरेका छन् ।
‘मलाई हिजोमात्रै एक जना साथीले गुगलमा सर्च गर्नुभएछ । मलाई स्क्रिननसर्ट पठाउनुभएछ– देउवा, ओली र दाहाल तीनै जना नेताले सक्रिय राजनीति छोड्नुपर्छ र अभिभावक बन्नुपर्छ । मैले गाउँको त्यो कार्यक्रममा जाँदा बोलेको रहेछु– देउवा, ओली र दाहालले सन्यास लिनुस्,’– उनले भनेका छन् ।
उनले नागरिक पंक्तिमा चरम असन्तुष्टि रहेको, चुनावपछि बन्ने नयाँ सरकारमा ओली, देउवा र प्रचण्ड पालैपालो प्रधानमन्त्री बनेको बताए । पुराना नेताहरुले कहिले छोड्छन् भनेर पर्खिनुपर्ने आवस्था रहेको उनको भनाइ छ । ‘चुनाव हुने, नयाँ सरकार बन्ने, प्रधानमन्त्री उनै । दुई÷तीन जना नेताको बीचमा घुमिरह्यो । उहाँहरुले कहिले छोड्नुहुन्छ भनेर पर्खिनुपर्ने भयो, छोडिदिनुस् न भनेर अनुरोध गर्नुपर्ने भयो । यसलाई विधिमा ल्याऔं, सिस्टममा ल्याऔं । ता कि भोलि विश्वप्रकाश शर्मा, गगन थापाहरुको पुस्ताले आएर नेतृत्व गर्दैगर्दाखेरी फेरि कसैले आएर छोडिदिनुस् न भन्न नपरोस्,’– उनले भने ।
यही अवस्थाका अन्त्य गर्नका लागि आफूले पार्टीमा ‘वान, टू, थ्री, फोर’ को कुरा ल्याएको उनले बताए । एक पटकमात्र राष्ट्रपति, दुई पटकमात्रै प्रधानमन्त्री, तीन पटकमात्रै मन्त्री र चार पटकमात्रै सांसद बन्न पाउने व्यवस्था भएको खण्डमा पदका लागि कोही पनि सिंहदरबारमा घाम तापेर नबस्ने उनको भनाइ छ ।
साथै, जेन–जी आन्दोलनको क्रममा भएका घटनाको उच्चस्तरीय छानविन समिति बनाएर दोषीमाथि कारबाही गरिनुपर्ने उनको माग छ । उनले भने, ‘त्यो दिन जे भएको छ, त्यो घटनालाई नयाँ बनेको सरकारले उच्चस्तरीय छानविन बनाएर जो–जो दोषी हो, प्रत्येकलाई कारबाहीको कठघरामा ल्याउनुपर्छ ।’