
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा पूर्वमन्त्री सुमना श्रेष्ठले आफू सुशिला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारमा सहभागी नहुने स्पष्ट पारेकी छिन् । तर, यो सरकारप्रति आफ्नो पूर्ण समर्थन रहेको उनको भनाई छ ।उनले वर्तमान सरकारलाई असफल हुने सहुलियत नभएको पनि उल्लेख गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनले पृष्ठभूमिमा बसेर आफूले यो सरकारलाई सफल बनाउनको लागि आफ्नो अनुभव र समय दिने वाचा गरेकी छिन् । प्रधानमन्त्रीको रुपमा सुशिला कार्कीले हिजो शपथ खाँदै गर्दा सुमनापनि शितलनिवासमा पुगेकी थिईन् ।
उनले शपथग्रहणलगत्तै जेन–जीका युवाहरुसँगै नवनियुक्त प्रधानमन्त्री कार्कीसँग सामूहिक तस्विरसमेत खिचाएको कारण सोसल मिडियामा उनी पनि यो अन्तरिम सरकारमा सहभागी हुने चर्चा चलिरहेको थियो । यही चर्चाको सन्दर्भमा उनले यस्तो स्पष्टीकरण दिएकी हुन् । नयाँ आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाको लागि आफू दिलोज्यान दिएर लाग्नेपनि उनको प्रण छ।