२८ भाद्र २०८२, शनिबार

संसद् विघटनको विपक्षमा उभिँदै कांग्रेसले भन्योः ‘असंवैधानिक कदम’

Deuba 15.jpg 3
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटनलाई असंवैधानिक कदम भनेको छ । उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्याविपरीत रहेको निष्कर्ष निकालेको हो । यस्तो प्रकारको कदमले लोकतान्त्रिक उपलब्धी धरापमा परेको र जेन–जी आन्दोलनको भावना र मर्मले समेत मृत्युवरण गर्ने अवस्था आएको कांग्रेसको निष्कर्ष छ ।

‘संसद् विघटनको यो उपक्रम हाम्रो संविधानको परिकल्पना र सम्मानित सर्वोच्च अदालतको व्याख्या विपरीत छ । संविधानसम्मत विल्कुल छैन । यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ, अर्कातर्फ जेन–जी आन्दोलनको भावना र मर्मले मृत्युवरण गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ,’– कांग्रेसले भनेको छ ।

आफूहरुले ‘आवश्यकताको सिद्धान्त’ अनुरुप जेन–जी ले प्रस्तावित गरेको व्यक्तिको नेतृत्वमा बन्ने अन्तरिम सरकारलाई संविधानसम्मत बनाउन संसद्बाट संविधान संशोधन गर्ने, नयाँ सरकारले नयाँ निर्वाचन घोषणा गर्ने र राजनैतिक निकासमा पुर्‍याउने जिम्मेवार प्रस्ताव गरेकोमा त्यसको विपरीत भएको कांग्रेसको भनाइ छ ।

जेन–जी आन्दोलनको माग सम्बोधन हुने र निर्णय संविधानसम्मत पनि हुँदा सर्वस्वीकार्य हुने अबस्था रहँदा रहँदै सहमतिपुर्वक अवलम्बन गर्न सकिने प्रक्रिया प्रयोग नगरी संविधानविपरित निर्णयमा पुग्नु दुःखद् रहेको कांग्रेसको निष्कर्ष छ ।

    सम्बन्धित समाचार...